कविता रियालिटी सो ‘द पोएट आइटल’ सिजन २ को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन्। शनिबार राति भएको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएका हुन्।
फिनालेमा राईसहित मोहित जोशी, मुस्ताङ पौडेल र विजय लुइँटेल पुगेका थिए। तर, अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै सिमियोन दोस्रो संस्करणको विजेता बन्न सफल भएका हुन्।
राईले विजेता घोषित भएसँगै नगद १० लाखसहित विभिन्न पुरस्कार जिते। एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखबराबरको गिफ्ट भौचर पाए।
उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी दोस्रो सिजनको निर्णायक थिए। कार्यक्रम निर्देशक अमनप्रताप अधिकारीले तेस्रो सिजन डेढ वर्षपछि आउने बताए।
पहिलो सिजनको उपाधि पनि सिक्किमकी नीलम गुरुङले जितेकी थिइन्।
Shares

प्रतिक्रिया