अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औं संस्करण सकिएको छ। टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शनसँगै आइतबार महोत्सव समापन गरिएको हो।
महोत्सवमा अन्तर्राष्ट्रिय विधा र नेपाल पानारोमाअन्तर्गत फिल्म तथा वृत्तचित्र प्रदर्शन भएका थिए। इन्टरनेसनल फिचर फिक्सनतर्फ इरानी फिल्म ‘अ चाइल्डलेस भिल्लेज’ उत्कृष्ट घोषित भएको छ।
त्यसैगरी, इन्टरनेसनल फिचर डकुमेन्ट्रीतर्फ कोलम्बियाको ‘रिओ रोजो’ उत्कृष्ट घोषित भयो। इन टु द हार्ट अफ माउन्टेन, यम्नुस्काः द र्याग्ड एज, क्विङ्डम र अगेन्स्ट द टाइड स्पेसल मेन्सन्स पाए।
इन्टरनेसनल सर्ट फिक्सनको अवार्ड भने इरानी फिल्म ‘एड्जस्टमेन्ट’ ले पाएको छ। सर्ट फिल्मतर्फ सल मेन्सन्सः नथिङ ग्रोज अन्डर द पाइन ट्री र स्प्लिट इन्ड्सले स्पेसल मेन्सन्स अवार्ड दिइयो।
इन्टरनेसनल सर्ट डकुमेन्ट्रीतर्फ क्लाइम्बिङ फर गोल्ड विजेता बनेको छ। इटर्नल फ्लेम र फरवार्ड स्पेसल मेन्सन्स पाए।

नेपाली पानारोमातर्फ देवेन्द्र खत्री निर्देशित ‘नेपाली फिक्सन’ र प्रद्युम्न मिश्र निर्देशित सर्ट फिल्म ‘दुविधा’ ले उत्कृष्ट कथानक चलचित्रतर्फको पुरस्कार हात पारे। त्यस्तै, सर्ट फिल्महरू ‘द मोंक एन्ड द रेबेल’ र ‘हावाम्यान’ ले स्पेसल मेन्सन्स अवार्ड पाए।
वृत्तचित्रतर्फ शान्ता नेपालीको ‘ध्ये ड्रिम्स’ उत्कृष्ट घोषित भएको छ। अनुषा थुलुङ राईको ‘रोङफामु’ र सामाग्रा शाहको ‘वाग्गिङ टेल’ ले स्पेसल मेन्सन्स पाए।
त्यसैगरी, मानवशास्त्री डोरबहादुर विष्टको जीवनीमा बनेको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ ले अडियन्स च्वाइस अवार्ड जितेको छ। यस डकुमेन्ट्रीले दर्शकको अत्यधिक भोटसहित एक लाख रुपैयाँ पुरस्कारसमेत पाउन सफल भएको छ। सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन्।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि चलेको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र देखाइएको थियो। इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु महोत्सवको नारा परिवर्तनको प्रतिध्वनि अर्थान् ‘इकोज अफ चेन्ज’ रहेको थियो।

काठमाडौं महानगरपालिका सहआयोजक रहेको महोत्सवमा समकालीन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैंगिकतालगायत विविधताले भरिएका फिल्म तथा वृत्तचित्र प्रदर्शन भए।
महोत्सवमा नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको अवसर पारेर दुई देशबीच समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शनी भएको थियो।
महोत्सवमा फिल्म प्रदर्शनीबाहेक अन्तर्क्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी, प्रतिस्थापन कलाजस्ता रचनात्मक गतिविधिले महोत्सवलाई रोचक र ज्ञानवर्धक बनाउन सघाएको अध्यक्ष रम्यता लिम्बूले बताइन्। महोत्सवमा नेपाल, भुटान, कोरिया, भारतलगायत देशका फिल्ममेकरहरू सहभागी थिए।
निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्यान्ड) रहेको निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनौट गरे।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिएको छ। नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपियाँ प्राप्त प्रदान गरियो।
किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेसनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ)को सदस्य हो। आईएएमएफमा २० देशका २८ संस्थाहरू छन्।
Shares

प्रतिक्रिया