दिनेश राउतले निर्देशन गरेको फिल्म ‘पुजार सार्की’काे पूर्वमन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले प्रशंसा गरेकी छिन्।
गोङ्गबुस्थित बीएसआर हलमा फिल्म हेरेपछि हिसिलाले सकारात्मक प्रतिक्रिया दिएकी हुन्।
फिल्मले नेपालका राजनीतिक दलहरूले गरेभन्दा पनि महान् क्रान्ति गरेको उनको भनाइ छ। आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित थुप्रै नेताहरूलाई यो चलचित्र देखाउने उनले बताएकी छिन्।
चलचित्र हेरेर निस्किँदै गर्दा चलचित्रका निर्देशक राउतसहित लेखक विकास सुवेदी, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली लगायत पुगेका थिए। टिमलाई प्रतिक्रिया दिँदै उनले छुवाछूत अन्त्यको लागि पनि आर्यखसहरूले नै साथ दिनुपर्ने यो फिल्मले दिएको सन्देशलाई आफूले महान् क्रान्तिको रूपमा लिएको बताइन्।
‘महिलाको हक हितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्छ। त्यस्तै, छुवाछूत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्छ र आर्य खसहरूले आफ्नैविरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ’, उनले भनिन्, ‘अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन। परम्परागत राजनीतिक पार्टी कांग्रेस, एमाले वा माओवादी सबैले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति 'पुजार सार्की'ले गरेको छ।’
‘अहिले आर्थिक रूपमा असाध्यै तल परिरहेको अवस्थामा मानिसको मनोबल तल गिरिरहेको छ। यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरूले हामीलाई घचघचाउने विषयहरू ल्याइराख्नुभएको छ। पुजार सार्की चलचित्रले राजनीतिक रूपमा नै छुवाछूतको समस्या समाधान गर्न सकिन्छ भन्ने कुराले हामीलाई राहत दिएको छ’, उनले थपिन्।
चलचित्रमा यो विषयवस्तु सही तरिकाले प्रस्तुत गरिएको बताउँदै उनले समाज सुधारको सन्दर्भमा अहिले प्रदर्शन भइरहेका चलचित्रहरूलाई राजनीतिक दलभन्दा पनि उच्च स्थानमा राखेको उल्लेख गरिन्।
जेठ १० गते रिलिज भएको 'पुजार सार्की' विश्व बजारमा सफलताका साथ प्रदर्शन भइरहेको छ। यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया