फ्यानको हत्या गरेको आरोपमा कन्नड अभिनेता दर्शन थुगुदीप यतिखेर जेलमा छन्। यसैबीच उनीसँग सम्बन्धित अर्को मुद्दा पनि ब्युँतिएको छ।
यो मुद्दा उनका ३९ वर्षीय म्यानेजर श्रीधरसँग सम्बन्धित छ, जसले यसै वर्ष अप्रिलमा दर्शनको फार्महाउसमा आत्महत्या गरेका थिए।
अहिले स्थानीय प्रहरीले यस प्रकरणमा पुनः अनुसन्धान गरी श्रीधरको आत्महत्या र अदालतमा चलिरहेको रेणुकास्वामी हत्या प्रकरणको सम्बन्ध केलाइरहेको छ।
अनुसन्धानका क्रममा प्रहरीले श्रीधरको भिडियो भेटाएको थियो। आत्महत्या गर्नुअघिको त्यस भिडियोमा श्रीधरले डिप्रेसनसँग लडिरहेको बताएका थिए। उनले यस प्रकरणसँग सम्बन्धित कुनै पनि अनुसन्धानमा आफ्नो परिवारलाई समावेश नगर्न अधिकारीसँग आग्रह गरेका थिए।
दर्शनको फार्महाउसको काम श्रीधरले हेर्थे। उनले सुसाइड नोटमा हस्ताक्षर र औंठाको छापसमेत राखेका थिए। र, यो कदम चाल्नुको कारण एक्लोपनलाई औंल्याएका थिए।
दर्शनका अर्का म्यानेजर ८ वर्षदेखि बेपत्ता
प्रहरी अनुसन्धानमा अर्को अचम्मको कुरा बाहिर आएको छ। दर्शनका एक म्यानेजर मल्लिकार्जुन सन् २०१६ देखि बेपत्ता छन्। कर्नाटकको गदग जिल्ला निवासी मल्लिकार्जुनले दर्शनसँग नजिकबाट काम गरेका थिए। उनी अभिनेताको फिल्मको समय तालिका र अन्य धेरै कुराहरू व्यवस्थापन गर्थे।
मल्लिकार्जुन फिल्म निर्माण र वितरणमा पनि प्रवेश गरेका थिए। फिल्म निर्माणमा मल्लिकार्जुनले धेरै घाटा बेहोरेका थिए, जसका कारण उनी ऋणमा परे। कन्नडका चर्चित अभिनेता अर्जुन सर्जाले पनि उनलाई १ करोड भारु ऋण दिएका थिए। पैसा फिर्ता नगरेको भन्दै अर्जुनले मल्लिकार्जुनविरुद्ध कानुनी कदम पनि चालेका थिए।
मल्लिकार्जुनले दर्शनबाट करिब २ करोड रुपैयाँ हिनामिना गरेको पनि समाचारमा जनाइएको छ। त्यसयता उनी बेपत्ता थिए। प्रहरीले धेरै प्रयास गरे पनि विगत ८ वर्षमा मल्लिकार्जुनबारे कुनै सुइँको पाउन सकेको छैन।
दर्शन थुगुदीप र उनको परिवार पनि यस विषयमा मौन बसेका छन्, जसले धेरैथरी अड्कलबाजी गर्न ठाउँ दिएको छ।
दर्शन आफ्ना फ्यान रेणुकास्वामीको हत्याको आरोपमा जेलमा छन्। हालसम्म प्रहरी अनुसन्धानमा यस हत्याकाण्डमा मृतक ३३ वर्षीय रेणुकास्वामी अभिनेता दर्शनका फ्यान रहेको जनाइएको छ।
विवाहित कलाकार दर्शनको पवित्रा गौडासँग विवाहेतर सम्बन्धको खबर पनि बाहिरिएको थियो।
यो खबरले रेणुकास्वामी निकै क्रोधित थिए। उनले पवित्रालाई दर्शनबाट टाढा रहन आग्रह गर्दै लगातार म्यासेज पठाएको पाइएको छ। प्रहरी स्रोतका अनुसार पवित्राले दर्शनलाई रेणुकाको हत्या गर्न उक्साएकी थिइन्। एजेन्सी
Shares

प्रतिक्रिया