विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीले छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहे १२ जुलाईमा हुँदैछ। बिहेअघि भव्य तरिकाले पहिलो र दोस्रो प्रि(वेडिङ समारोह गरिएको थियो।
यसैबीच, बिहेको पूर्वसन्ध्यामा सोमबार अम्बानीको घर एन्टिलियामा हल्दी मेहन्दी आयोजना गरिएको थियो। जहाँ सलमान खान, सारा अली खान, जान्हवी कपुर, अर्जुन कपुर, अनन्या पाण्डे, मानुषी छिल्लर र रणवीर सिंह लगायत बलिउड सेलिब्रेटीहरूको उपस्थिति थियो।
यस कार्यक्रममा मुकेश अम्बानीका भाई अनिल अम्बानी र उनकी श्रीमती टीना अम्बानी सहित परिवारका धेरै सदस्यहरू पनि सहभागी थिए। त्यस्तै, राधिकाका बुवा वीरेन मर्चेन्ट, आमा शैला मर्चेन्ट र बहिनी अञ्जली पनि यहाँ देखिएका थिए।
राति अबेरसम्म चलेको उक्त कार्यक्रममा उदित नारायण र राहुल वैद्यले सांगीतिक प्रस्तुति दिएका थिए। समारोह परम्परा, संगीत र उत्सवले भरिएको थियो।
मनोरञ्जनसँगै भावनात्मक स्पर्श दिन उदितले ‘मेहन्दी लगा के रखना’, ‘बद्रीनाथ की दुल्हनिया’ र ‘बोले चुडियाँ’ जस्ता गीतहरू प्रस्तुत गरेका थिए।
यसअघि आइतबार राधिका मर्चेन्टको मुम्बईस्थित घरमा ग्रहशान्ति पूजा गरिएको थियो। यो पुजाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। भिडियोमा राधिका आफ्नी बहिनी अञ्जली मर्चेन्ट र आमा शैला मर्चेन्टसँग परम्परागत लुकमा देखिएकी थिइन्।
५ जुलाईमा अनन्त–राधिकाको संगीत कार्यक्रम भएको थियो जसमा अन्तर्राष्ट्रिय पप गायक जस्टिन बिबरले प्रस्तुति दिएका थिए।
अनन्त र राधिकाको तीन दिनको समारोह मुम्बईको जियो वर्ल्ड सेन्टरमा मात्र चल्नेछ। यसपछि जुलाई १४ मा रिसेप्सन पार्टी हुनेछ, जसमा विश्वभरका भिभिआईपी पाहुनाहरु सहभागी हुनेछन्।
अनन्त–राधिकाको विवाहमा धेरै अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू आउने सम्भावना छ। मिडिया रिपोर्टका अनुसार मुकेश अम्बानीले पूर्व फुटबलर डेभिड बेकहम र उनकी श्रीमती भिक्टोरियालाई पनि विवाहको निमन्त्रणा पठाएका छन्।
Shares

प्रतिक्रिया