राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’ यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ। निर्देशक राजु आफ्नो यो फिल्म करिअरकै फरक कन्टेन्टमा बनेको दाबी गर्छन्।
फिल्मको नाम झट्ट सुन्दा धार्मिक भए पनि फिल्मले धार्मिक कुरालाई उठान नगरेको निर्देशक गिरी बताउँछन्।
‘ईश्वर भन्नासाथ सबैले भगवान सम्झन्छन्। तर फिल्ममा ईश्वर भनेको एउटा क्यारेक्टर हो। त्यो अहिले खुलाउन मिल्दैन । एउटा इमान्दार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको परिदृश्य फिल्ममा छ’, उनले भने।
राजुका अनुसार प्रहरीको जागिर छोडेपछि ‘ईश्वर’ पात्रले गाउँ गएर बर्दी बिनाको प्रहरीको काम गर्छ। गाउँमा भ्रष्टचारी, घुसखोरीहरु विनाश गर्छ।
कन्टेन्टको हिसाबले अहिलेसम्मको आफ्नो फिल्महरु भन्दा ‘ईश्वर’ फरक रहेको दाबी गर्छन्।
‘समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार, समाजमा बढ्दो जातीय छुवाछुतविरुद्धको कथा यसमा छ। ईश्वर जस्तो मान्छे प्रत्येक गाउँमा जन्मनुपर्छ। त्यस्तो मान्छे जन्मियो भने मात्र देशको विकास हुन्छ भन्ने सन्देश फिल्मले दिन्छ,’ उनले भने।
फिल्मको केही महिना अघि पोखरामा प्रिमियर गरिएको थियो। फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि आएका थिए। ‘उहाँ पाँच मिनेटका लागि मात्र फिल्म हेर्न आउनु भएको थियो। तर पुरा फिल्म हेरेर जानुभयो। फिल्मको कथावस्तु आफूलाई मनपरेको बताउनुभयो’, राजुले सम्झिए।
राजु ‘ईश्वर’ प्रत्येक जनता र नेताले हेर्नुपर्ने सुनाउँछन्।
देशलाई माया गर्ने दर्शकहरुले ‘ईश्वर’ हेर्नुपर्ने बताउँदै उनले भने, ‘फिल्म हेरिसकेपछि दर्शकले देश बनाउने निकायमा हुने भ्रष्टाचारलाई अन्त्य गरौं, समाज रुपान्तरण गरौं भन्ने सन्देश पाउँछन्। फिल्मले जो नेपाली हो, नेपालीले आफू नेपाल बनाउन र बचाउन सक्नुपर्छ भन्ने सन्देश दिन्छ’, उनले भने।
Shares
प्रतिक्रिया