अभिनेत्री वर्षा राउतले रङ्गमञ्चमा डेब्यू गर्ने भएकी छिन्। उनले नाटक ‘हिटलर आउँदैछ’ मार्फत् रङ्गमञ्चमा पाइला राख्न थालेकी हुन्।
विमल सुवेदीको निर्देशन रहने यो नाटक अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ। वर्षासँगै जोयस पाण्डेले पनि यसै नाटकमार्फत रङ्गमञ्चमा डेब्यु गर्दैछन्।
नाटकलाई विमल र जोयशले मिलेर लेखेका हुन्। आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त व्यक्तिहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो।
कार्यक्रममा तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन्। यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए।
कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक विमल सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लण्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण भएको बताए। उनले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरुको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको सुनाएँ।
नाटकमा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीको भनाइ छ।
‘म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ। यही सिद्धान्त प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौँ। यही क्रमको निरन्तरताको रुपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रुपमा लिएका छौँ। यसलाई कोसेढुंगा बनाउन कुनै कसर छाड्ने छैनौँ,’ उनले भने।
उनले आफूसँग २० बढी देशमा नाटक मञ्चनको अनुभव रहेको बताउँदै नेपाली सभ्यता, संस्कृति, सोच, क्षमता विश्व बजारमा आफ्नो पहिचान सम्मानपूर्वक राख्न सक्ने भइसकेको सुनाएँ।
नाटकबाट ‘साघुँरो’ फिल्मका निर्देशक जोयश पाण्डेले लेखकसँगै कलाकारको रुपमा पनि डेब्यू गर्दैछन् ।
जोयश पाण्डेले आफ्नो परिचय निर्देशकका रुपमा स्थापित रहे पनि आफूले कलाकारको रुपमा थुप्रै नाटक गरेको स्मरण गरे।
‘मैलै आफ्नो यात्रा अभिनेताको रुपमा नाटकबाटै सुरु गरेको हुँ। तसर्थ विमलजीलाई भेटेपछि फेरि मलाई एकपल्ट अभिनेताका रुपमा नाटकमा काम गर्ने रहर भयो र यसमा सहलेखनसँगै मुख्य अभिनेताका रुपमा पनि म जोडिएको छु, ’ जोयशले भने।
म्युजिकल डार्क कमेडी विधाको यो नाटकलाई अन्तर्राष्ट्रिय ब्रडवेको मापदण्डअनुसार तयार गरिएको छ ।
दर्जनौँ चलचित्रमा अभिनय गरेकी वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छिन्। हाल रिहर्सल चलिरहेको सो नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको उनले बताइन् ।
‘नाटकबाट आएको धेरै कलाकारसँग चलचित्रमा काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिले देखिनै थियो । तर यो अवसर यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु। मेरा पहिलो नाटक नै नेपालका उत्कुष्ट नाट्य निर्देशक तथा प्रशिक्षक विमल सुवेदीसँग, त्यो पनि अमेरिकाबाट हुनु चानचुने संयोग होइन । साथै नेपालका उत्कुष्ट निर्देशक जोयश पाण्डेसँगसँगै नाट्ययात्रा सुरु गर्नुले मलाई उत्साहित बनाएको छ। यो नाटकबाट धेरै कुरा पाउनेमा म विश्वस्त छु,’ उनले भनिन् ।
नाटक अगस्ट महिनाको २३ बाट ओहायोको एक्रोनमा मन्चन भएर यसको वल्र्ड प्रिमिएर हुनेछ र यसलाई अमेरिकाकै विभिन्न स्थान लगायत विश्वका अन्य देशमा मञ्चन गरिनेछ। नाटकलाई नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका एक पहलकर्ता आकाश खतिवडाले वताए ।
अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा रहेको छ। साथै यसलाई सनसाइन तेकवान्दो एण्ड डान्स एकेडेमी लागयतका विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछ। यसको कुल लागत लगभग दुई करोड नेपाली रहेको ह्याप्पीहोम स्टुडियोका निर्देशक जोयश पाण्डे र कार्यकारी निर्माता राकेश भट्टराईले बताए।
न्यूयोर्कमा अध्यापन गराउने ताइवानका फिल्ममेकर, निर्देशक चिनआउवाउले पनि यसमा सहकार्य गरेका छन्। यस नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरु जोडिएका छन् ।
Shares

प्रतिक्रिया