कलाकार दीपकराज गिरी कलाकारअघि विभिन्न विशेषण जोडिराख्न नपर्ने बताउँछन्। शनिबार सुरू भएको ‘कलिङ साहित्य महोत्सव’को ‘नायक र नायकत्व’ शीर्षकमा धारणा राख्दै उनले नेपाली सिने क्षेत्र विश्लेषण जोडिदिनमा खप्पिस रहेको समेत टिप्पणी गरे।
व्यक्ति जस्तो छ, शतप्रतिशत त्यस्तै भइदियो भने मात्रै ऊ नायक हुने गिरीको भनाइ छ। प्रस्तुत छ, उनले राखेको धारणाको सम्पादित अंशः
मलाई नायक, महानायक, सम्राट, मेगास्टार, सुपरस्टारजस्ता विशेषणभन्दा कलाकार भनेको मनपर्छ। विशेषणको बजारजस्तो लाग्छ, हाम्रो चलचित्र क्षेत्र। दुइटा चलचित्र खेल्न पाएको छैन, विशेषण चाहिने। सायद विशेषणको भोक छ होला।
अग्रज कलाकार, लामो समयसम्म काम गरेकालाई बरिष्ठ कलाकार भन्न सकिन्छ। कसलाई उत्कृष्ट मान्ने? आउने पुस्तालाई अन्याय होला, यी प्रकारका विशेषणहरु काम छैन। शुद्ध कलाकार। कलाकार भन्दा कति मिठो सुनिन्छ। कसैले माया गरेर हास्यकलाकार भन्नुहुन्छ, त्यसमा खुसी नै हुन्छु।
दीपकराज गिरी नायक होइन, उसले निभाएको राजा भन्ने पात्र नायक हो। नायक आफैं पात्र हो। भिन्न–भिन्न पात्रहरु, खलनायक पात्र, चरित्र अभिनेता, चरित्र अभिनेत्री यी थुप्रै पात्रबीच नायक पनि एक पाात्र हो। समय अनुकुल परिभाषा पनि परिवर्तन हुँदै जान्छ। हरेक नायकत्व वा नायक कस्तो हुनुपर्छ भन्ने परिभाषा नै परिवर्तन भइरहेको छ। कुनै सामन्य पात्र पनि नायक हुन सक्छ।
परम्परागत भाषामा जुन नायक भनिन्थ्यो, त्यो फरक हो। आजकल नायक भिन्न भिन्न खालका छन्। प्रविधिको ढाडमा उभिएको नायक जस्तै, केजीएफ जस्तो। प्रविधिले उसको उपस्थितिलाई विशाल बनाएर आँखालाई लोभ्याउने पहिले नै स्थापित नायक। बीजीएमले बनाएको नायक। पात्रहरुले उत्पत्तिले गर्ने नायक, हाम्रै माटोमा खेलेर हुर्केका, जीन्दगीको भोगाइबाट निस्केका पात्र नायक हुन्।
यर्थाथ आफ्नो ठाउँमा छ, आदर्श अर्को ठाउँमा छ। समाजले हरेक क्षेत्रका मानिस त्यो नायकत्वको भूमिका खोज्छ। एउटा बुवा नायक हुन सक्छ, एउटा छोरा नायक हुन सक्छ। जब म नायक भनेर कल्पना गर्छु, जो मानिस जे हो त्यो शतप्रतिशत भइदियो भने त्यो नायक हो। तर विडम्बना के छ भने, हाम्रो देशमा जो जे छ त्यो छैन्, जे छैन त्यो छ । एउटा कलाकार राजनीतिमा बढी चाख राख्ला, एउटा शिक्षक राजनीतिक गतिविधिमा मेरो भूमिका भनेको चलचित्रमा भिन्न भिन्न पात्रको रुपमा अभिनय गर्ने व्यक्ति हो। जुन आदर्श नहुन पनि सक्छ, हुन पनि सक्छ। मेरो उद्देश्य भनेको दर्शकलाई समाज परिवर्तन भएको देखाउनु हो।
पहिलेको तुलनामा अहिलेको समाज सामाजिक सञ्जालको कारण आन्दोलित वा आक्रोशित बनाइदिन सक्छन्। अपराध भनेको मान्छे नै मार्नु भन्ने छैन। सामजिक सञ्जालमा हिंसा भइरहेको छ। मनोवैज्ञानिक रुपमा हुन सक्छ। हामी कलाकारले खेल्ने भूमिका भनेको यहीँ हो। हामीले पोस्ट गरेको सम्प्रेषण गरेको कुराले समाज हिंसात्मक होइन अनुशासित बनोस्। सामजिक सञ्जालको आगमन भएपछि हामी नायक बन्ने कि खलनायक बन्ने?
Shares
प्रतिक्रिया