कला


‘ह्रस्व दीर्घ’को ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक (भिडिओ)

‘ह्रस्व दीर्घ’को ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १४:३, काठमाडौँ

शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक ‘भगवान नै आमा हुन्’ बोलको गीत मर्मस्पर्शी सुनिन्छ। सार्वजनिक गीतमा आमाको महिमा वर्णन गरिएको छ।

सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्री उठेर नाचिस्यो गीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको छ। मंगलबार सार्वजनिक मर्मस्पर्शी गीतले सिनेमाप्रति दर्शकको कौतुहल्ता अझै बढाउने देखिन्छ। सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना र संगीत छ।

सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ। सार्वजनिक गीतमा अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ। उनको अभिनय मनछुने लाग्छ । एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन्।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ।
भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad