केही वर्षयता नेपाल र विदेशमा चलचित्रसम्बन्धि अवार्ड समारोह बढिरहेका छन्। तर, ‘राम्रालाई भन्दा हाम्रालाई’ अवार्ड दिने गरेको आरोप पनि लाग्ने गरेको छ।
निजीभन्दा राष्ट्रिय चलचित्र अवार्डलाई भने केही हदसम्म राम्रै मानिन्छ। हुनत यसमा पनि विवाद नभएको होइन्। गत वर्ष मात्रै मुख्य विधा अर्थात उत्कृष्ट फिल्म गायब पारेको विषय अवार्डसम्मै पुगेको थियो।
गत बुधबार पनि राष्ट्रपति कार्यालय शीतल निवासमा ८ विधामा राष्ट्रिय अवार्ड दिइयो। जुन अवार्ड पनि विवादरहित हुन सकेन्।
२०८० सालको नयाँ वर्षमा रिलिज भएको फिल्म ‘जारी’ लाई दर्शक तथा समीक्षकले निकै रुचाएका थिए। कथा वाचनको हिसाबले उत्कृष्ट यस फिल्मले बक्स अफिसमा १७ करोड बढी कमाइ गरेको थियो।
फिल्म निर्देशक दीपेन्द्र लामाले एक स्टाट्स लेख्दै ‘जारी’ कुनै पनि विधामा एउटा अवार्ड पनि नदिनु अन्याय भएको उल्लेख गरेका छन्।
‘उत्कृष्ट चलचित्र, निर्देशन, पटकथा, अभिनेता, अभिनेत्री, छायांकन र सम्पादन कुनै पनि विधामा जारीलाई सरकारी अवार्ड नदिइनु चाहिँ घोर अन्याय हो। नेसनल फिल्म अवार्डका निर्णायक समितिको ‘फिल्म लिट्रेसी’ निकै नै दयनीय रहेछ । छर्लङ्ग भयो,’उनले लेखेका छन्।
धेरैले उनको धारणामा सहमति जनाउँदै अवार्डमा पनि राजनीति भएको उल्लेख गरेका छन्। तर, स्टाट्समा कलाकार दीपकराज गिरीले भने फरक प्रतिक्रिया छ। यसले र उसले अवार्ड पाउनुपर्थ्यो भनेर फिल्मकर्मीले नै भन्नु ठीक नभएको उनको भनाइ छ।
जसमा निर्देशक लामाले प्रतिजवाफ फर्काएका छन्। ‘जारी’ ले मात्र सम्पूर्ण विधामा अवार्ड पाउनुपर्छ नभनेको बताउँदै सबैबाट राम्रो समीक्षा पाएको फिल्मलाई एउटै पनि विधामा अवार्ड नदिइनु अस्वभाविक लागेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘अवार्ड कार्यक्रममा केही न केही विवाद आइहाल्छ। निर्णय गर्दा १९र२० को फरक हुनु स्वभाविक हो। तर, जारीलाई एउटै पनि विधामा अवार्ड नदिइनु बिल्कुलै अस्वभाविक हो।’
लामासहित अन्य चलचित्रकर्मीले पनि राष्ट्रिय अवार्डमा ‘जारी’ माथि अन्याय भएको बताइरहेका छन्। साथै जुरी टिममाथि पूर्वाग्रहदेखि नस्लवादसम्मको आरोप लागिरहेको छ।
Shares

प्रतिक्रिया