कला


डेरा गरेर भविष्य खोजिरहेका युवाको कथा म्युजिकल फिल्म ‘कोठा’ (भिडिओ)

डेरा गरेर भविष्य खोजिरहेका युवाको कथा म्युजिकल फिल्म ‘कोठा’ (भिडिओ)

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १०:८, काठमाडौँ

डेरा गरेर भविष्य खोजिरहेका युवाहरूको कथामा आधारित म्युजिकल फिल्म ‘कोठा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा म्युजिकल फिल्म सार्वजनिक गरिएको हो।

आर्ट घरको निर्माणमा बनेको यस म्युजिकल फिल्मलाई भीष्म जोशीले तयार गरेका हुन्। जोशीको कथा तथा कन्सेप्टमा तयार साङ्गीतिक फिल्ममा काठमाडौँमा डेरा गरेर भविष्य खोजिरहेको युवा र उनीहरूको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ। 

सपना पोका बोकेर काठमाडौँ छिरेको ग्रामीण ठिटो र उसका भोगाई फिल्ममा देख्न सकिन्छ। निर्देशक जोशीले सहरमा भविष्य खोजिरहँदा गाउँमै छुटेका अतीतहरू अनि सहरमा भेटिएका र देखिएका रहरहरूको संयोजनलाई फिल्ममार्फत देखाएका छन्। 

पछिल्लो समयका चर्चित गायक सङ्गीतकार प्रशान्त सिवाकोटीको आवाज तथा उनैको सङ्गीतमा सार्वजनिक ‘कोठा’मा आधुनिक र लोक दुवै लय सुन्न सकिन्छ।

सङ्गीतकार सिवाकोटीले गीतमा देउडा भाकालाई पनि स्थान दिएका छन्। उनी आफैँले गीत सार्वजनिक कार्यक्रममा भने, ‘आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठा मार्फत गाउने प्रयास गरेको छु, विश्वास छ सबैले हाम्रो नयाँ साङ्गीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ।’

साङ्गीतिक फिल्म सार्वजनिक कार्यक्रममा निर्देशक जोशीले गीतलाई गाउँबाट सहर आएपछिका आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर ‘कोठा’ तयार गरेको बताए। उनले धेरै नेपाली दर्शक तथा श्रोताहरूलाई साङ्गीतिक फिल्मले छुनेमा पनि आफू विश्वस्त रहेको बताए। 

नव–कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको  फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय रहेको छ। यसै गरी सन्तोष बिस्ट, सृष्टि ऐर, सागर भुसाल र अनिल दाहालको पनि अभिनय रहेको छ। 

सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको यस साङ्गीतिक फिल्ममा निर्देशक जोशी र  कवि देव व्रतको शब्द सुन्न सकिन्छ। 

निर्देशक जोशीले यसअघि आर्ट घरबाटै ‘समय र उमेर’ सार्वजनिक गरेका थिए भने उनी नेपाली चलचित्र तथा रङ्गमञ्चका सक्रिय र उम्दा कलाकारसमेत हुन्।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad