कला


‘ऊनको स्वीटर’को ‘मखमली’ गीत नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङमा

‘ऊनको स्वीटर’को ‘मखमली’ गीत नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङमा

नेपालखबर
पुस १४, २०८१ आइतबार १५:३२, काठमाडौँ

वैशाख २६ गते प्रदर्शन हुने फिल्म ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै युट्युबमा तहल्का मच्चाएको छ। यो गीत हाल नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ।

नेपालको युट्युबमा म्युजिकतर्फको ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। नेपालमा मात्र नभई माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ तथा कुवेतमा उन्नाइसौँ स्थानमा रहेर यो गीतले नेपाली चलचित्रप्रतिको विश्वव्यापी चासोलाई झल्काएको छ। यी सबै मुलुकहरूमा नेपालीहरूको सङ्ख्या व्यापक रहेको छ र प्रवासमा रहेका नेपालीहरूको यो चासोले यस चलचित्रको विदेश रिलिज व्यापक हुने अनुमान गरिएको छ ।

गत बिहीबार साँझ रिलिज भएको यो गीत साढे १३ लाख पटक युट्युबमा हेरिएको छ भने टिकटक र फेसबुक रिल्समा लाखौँ भिडियो बनेका छन्।

गीतको टीजर नै केही दिनअघि सार्वजनिक हुँदा दर्शकहरूको अत्यधिक रुचि पाएको थियो। पूर्ण गीत सार्वजनिक भएपछि यो अपेक्षाकृत चर्चित बनेको छ र यसबाट दर्शकहरूले चलचित्र हेर्न व्यग्र प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेको निर्देशक नवीन चौहानले बताए।

यो गीतले नेपाली लोक सङ्गीतको चर्चित कौडारचुट्का भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो चलचित्रका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन्।

गीतमा सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन्। हर्क साउदको शब्द रचना, सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ। दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

यो आर्टमाण्डू प्रा।लि।को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो। चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ।

चलचित्रमा विपिन र मिरुनासहित सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad