कला


लन्डनस्थित प्रतिष्ठित द ओटुमा गुञ्जदै ‘कन्दरा’

लन्डनस्थित प्रतिष्ठित द ओटुमा गुञ्जदै ‘कन्दरा’

नेपालखबर
पुस १५, २०८१ सोमबार १२:७, काठमाडौँ

लोकप्रिय ब्यान्ड कन्दराले सन् २०२५ मा संसारका विभिन्न देशमा सांगीतिक प्रस्तुति दिने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर ब्यान्डले जनवरी ४ मा आफ्नो सांगीतिक यात्राको पहिलो प्रस्तुति बेलायतको लन्डनस्थित द ओटुबाट सुरु गर्नेछ।

कन्दराका गायक विवेक श्रेष्ठले भने, ‘नयाँ वर्षमा कुनै पनि संगीत सर्जकका लागि ड्रिम भेन्यू ओटुबाट हाम्रो अन्तर्राष्ट्रिय सांगीतिक टुर गर्न पाउनु खुसीको कुरा हो। बेलायतमा कन्दराकै पहिलो कन्सर्ट ओटुबाट सुरु हुन लागेकोले हामी कन्दराका सबै साथीहरु उत्साहित छौं।‘ उनले लन्डनपछि जनवरीमै ब्यान्डले दुबई, कतार र हङकङमा कन्सर्ट गर्ने जानकारी दिए।

लन्डनस्थित ओटु युरोपका विभिन्न सहरबाट स्रोताहरु आफूलाई मन परेका संगीत सर्जकलाई प्रत्यक्ष हेर्न, सुन्न आउने चर्चित थलो हो। लेड जेप्लिन, एल्टन जोन, लिंकिन पार्क, प्रिन्स, सानिया ट्वैन, म्याडोना, डेभिडोलगायत विश्वचर्चित भारतीय संगीतकार एआर रहमानले समेत प्रस्तुति दिएका छन्। नेपाली ब्यान्डका तर्फबाट ओटुमा प्रस्तुति दिने कन्दरा पहिलो ब्यान्ड हुनेछ। नेपाली कलाकारका रुपमा यअसघि सज्जनराज वैद्यले भने ओटुमा प्रस्तुति दिएका थिए।

नयाँ वर्षमा कन्सर्टसँगै आफ्ना नयाँ गीतहरु पनि सार्वजनिक गर्ने तयारी गरेको ब्यान्डले जनवरी १ तारिककै दिन आफ्नो नयाँ गीत ‘हुनेछस् द सङ अफ होप’ सार्वजनिक गर्दैछ।

माया प्रेमका सुख दुस्ख, प्रकृति र स्थानविशेष गीतहरु गाउँदै आएको कन्दराको नयाँ गीत अन्य गीतभन्दा पृथक छ। गीतले भन्छ,

सुन्दर बिहानी त्यो आउने छ एक दिन

कुरुप ती मनहरु बिलिने छन् एक दिन

तिमी आशा नमार्नु निराश नहुनु

पीडा भुलाउने खुसी ल्याउने छु त्यो दिन

नयाँ वर्षमा नवीन सोच र सकारात्मक उर्जा छर्ने उद्देश्यले आशावादी गीत सार्वजनिक गरिएको ब्यान्डको गायक विवेकको भनाइ छ। गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रमर सुनिल थापाले तयार पारेका छन् । गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ। 

देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए।

गत कात्तिक २४ गते ठमेलस्थित एलओडी क्लबमा ‘कन्दरा’ ब्याण्डले पहिला घरदेश अनि परदेश थिममा सांगीतिक प्रस्तुति गरेपछि आफ्नो सक्रियता तीव्र बनाएको हो।

मेलोडी र मिठासले भरिएको अर्थपूर्ण गीत गाउने कन्दराले आफ्नो स्थापनाको तीन दशकलाई विशेष उत्सवका रुपमा मनाउने घोषणासहित गण्डकी, कोशी र बागमती प्रदेशमा सफलताका साथ कन्सर्ट प्रस्तुत गरिसकेको छ।

कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन्। सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad