कला


‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यास लोकार्पण, जसले भन्छ भुइँमान्छेको कथा

‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यास लोकार्पण, जसले भन्छ भुइँमान्छेको कथा

नेपालखबर
पुस १७, २०८१ बुधबार १०:४२, कैलाली

आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ कैलालीको टीकापुरमा लोकार्पण गरिएको छ।

पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास उनीहरूकै हातबाट मंगलबार सार्वजनिक गरिएको हो। 

गगन फाउन्डेसनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारले भोगेका समस्या, पीडा तथा कर्णाली सभ्यताको व्याख्या गरिएको छ।

उपन्यास लोकार्पण कार्यक्रममा उपन्यासको समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिभन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे।

‘जित्नेहरूको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत आख्यानकार थापाले एक विपन्न परिवार, उसको संघर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्‍याएको योगदानबारे यथार्थ उजागर गरिएको छ’, डाक्टर उपाध्यायले भने, ‘आम नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी व्यवस्था आउनुपर्ने धारणा उपन्यासमा देखिन्छ।’

चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको छ। प्रकाशक गगन फाउन्डेसनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्र नै प्रमुख अतिथि बनाएर लोकार्पण गरिएको बताउँदै उक्त उपन्यासको बिक्रीबाट हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे।

‘यो उपन्यासका मुख्य पात्रको जीवन प्रजातन्त्र स्थापनाको लामो समय भइसक्दा समेत ज्युँका त्युँ नै छ, उपन्यासको अन्त्यमा उनको जीवन सुखमय भएको कल्पना उपन्यासकारले गरेका छन्’, कविसमेत रहेका थापाले भने ‘थोरै भए पनि उनलाई राहत पुगोस् भन्नका लागि यो उपन्यासको सम्पूर्ण बिक्री रकम नेपालीको परिवारलाई हस्तान्तरण गर्नेछौँ।’

कार्यक्रममा दैलेखका दिलीप आचार्यले पुस्तक बिक्रीको १० हजार रुपैयाँ नेपालीको परिवारलाई हस्तान्तरण गरे।

टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्ने नेपाली बजार क्षेत्रमा मागेर जीविकोपार्जन गर्छन्। 

स्वर्गीय साहित्यकार थापाका सोह्र सौगात (कथा संग्रह, २०३५), कर्णालीको छेउछाउ (उपन्यास ,२०७१), पुर्खाको चिठ्ठी (उपन्यास ,२०७२), मेरो मधुशाला (उपन्यास, २०७४), उज्ज्वली (लघु उपन्यास, २०७६), महाप्रलय (उपन्यास, २०७७) र मरुभूमिकी महारानी (लघु उपन्यास, २०७७) कृति प्रकाशित छन्।

थापाको निधनपछि उनले लेखेको कृति पाठकसामु पुर्‍याउन छोरा हिक्मत थापाले महत्त्वपूर्ण भूमिमा निर्वाह गरेका थिए। छोरा हाल रोजगारीको सिलसिलामा नाइजेरियामा छन्। उनी कवि हुन् र उनको पनि चिबोकका केटीहरू नामक कविता संग्रह प्रकाशित छ।

थापा गैरआवासीय नेपाली संघ एनआरएनका पूर्वकोषाध्यक्ष हुन्। भुइँमान्छेको कथा ‘मेरा गाउँको खडक्या मन्त्री’ तीस र चालीसको दशकको कैलालीको ग्रामीण क्षेत्रको कथा हो। यो पञ्चायतका अन्तिम वर्षहरूमा बदलिँदो सामाजिक संरचना, जातीय र आर्थिक विभेद र चेतनाको बढ्दो विस्तारको कथा हो।

नागरिकका रूप मात्र नभई विद्रोह, चेतना र तिनलाई आदर्शका रूपमा स्थापित गर्ने लेखकका पात्र हुन्- खडक्या मन्त्री, जो यस उपन्यासका केन्द्र हुन्।

कटासे बजार मात्र हैन, यो कथामा कैलाशदेखि अयोध्यासम्मको कर्णाली सभ्यता फैलिएको छ। जसमा थारु, अछामी र हिन्दी भाषाका जनजिब्रोका संवाद छन्। हटारु, बसाइँसराइ र बम्बैवाला संस्कृति र अर्थतन्त्रका कुरा छन्। 

यसमा जमिन्दारी शोषण र सुकुमबासी व्यथा अनि केन्द्रीकृत पञ्चायती राजका पीडा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad