कला


प्रकाश सपुतको फिल्म ‘वसन्त’ चैत २२ गतेबाट रिलिज हुने

प्रकाश सपुतको फिल्म ‘वसन्त’ चैत २२ गतेबाट रिलिज हुने

नेपालखबर
पुस २२, २०८१ सोमबार १४:५७, काठमाडौँ

प्रकाश सपुतको फिल्म ‘वसन्त’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। प्रकाशकै लेखन र निर्देशन रहेको यो फिल्म आगामी चैत २२ गतेबाट रिलिज हुनेछ।

पोस्टरमा प्रकाश आफैँ फिचर्ड छन्। पोस्टरमा प्रकाशको पात्र अध्ययनशील देखिएको छ। केही लेखिरहेको र केही सोचिरहेको देखिन्छ। टेबुलमा किताबको चाङ छ भने भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन्। यसले उनी कही साहित्य लेखिरहेको अनुमान हुन्छ।

यस फिल्ममा सपुतकै अभिनय, गायन र संगीत समेत रहेको छ। प्रकाशले पोस्टर सार्वजनिक गर्दै ‘वसन्त’ निर्माण गर्दाका चुनौतीका अनुभव सेयर गरेका छन्। ‘वसन्त’ निर्माणमा व्यस्त हुँदा धेरै कुरा नचाहेर पनि छोड्नु परेको बताएका छन् ।

गीत, स्टेज, चलचित्रको प्रचारमा समय दिन नसकेको बताएका छन्। यसका कारण आफ्नो आलोचना भएको बताएका छन्। तर पनि आफू ‘वसन्त’मा सफल भए यसबाट गुमेका सबै कुरा फिर्ता हुने उनको विश्वास छ।

‘यदि ‘वसन्त’ तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ। यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो। मेरो सीमितता यहीसम्म हो। मैले यहाँभन्दा थप केही जान्दिनँ,’ यसो भनौं, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति। मलाई विश्वास छ, ‘वसन्त’ले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ,’ उनले लेखेका छन्।

यस फिल्ममा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेलगायतका कलाकारको अभिनय छ। गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा मोहन विश्वकर्मा र विन्दू बोहरा निर्माता छन्। कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन्।

प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी–२’ सुपरहिट भएको थियो। हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो। सपुतले ‘वसन्त’ मार्फत निर्देशनमा डेब्यु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad