बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा बाल विवाहले महिलाको जीवनमा पार्ने प्रभावको कथा समेटिएको छ।
टिजरमा मुख्य कलाकार अस्मिता ढकाल फिचर्ड छिन्। अनमेल विवाहले एउटी नारीको जीवनमा कस्तोसम्म असर पर्छ भन्ने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ। टिजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई स्थान दिइएको छ।
आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो।
‘बाल विवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारासहित यो फिल्म बनाएका हौँ,’ निर्देशक जीवन सेञ्चुरीले भने।
फिल्मले बाल विवाह तथा महिलाको मुद्दा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने उनको भनाइ छ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ। राजबहादुर सानेको कथा रहेको फिल्मलाई रामेश्वर हुमागाईंले खिँचेका हुन्। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्दैछ।
Shares

प्रतिक्रिया