अभिनेता सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको एक्सन फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट प्रदर्शन हुँदैछ। यो फिल्ममा सुशिलले नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ।
केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ। अब, भने फिल्म रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ।
यसैबिच, यो फिल्मका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन्। यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए। यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ।
निर्माणपक्षका अनुसार, फिल्ममा करिब ५० मिनेट एक्सन छ। जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ।
टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा अमित अग्रहरिको लगानी छ। फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ।
चुल्ठे काजीको एक्सन रहेको यो फिल्ममा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ। विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्।
Shares

प्रतिक्रिया