फागुनको २ गतेबाट रिलिज हुने फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक भएको छ।
ईश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतमा केतन क्षेत्री र मुना ठटालको स्वर सुन्न सकिन्छ। गीतमा उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन्।
गीत रोमान्टिक शैलीमा तयार पारिएको छ। गीतमको भिडिओमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा फिचर्ड छ्न्।
भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ।
यो फिल्मको टिजर र ब्रेकअप कविता चर्चित भइसकेको छ। सामाजिक संजालमा ब्रेकअप कवितामा टिकटक बनाउनेहरुको संख्या लाख भन्दा माथि छ। अब, यो गीतले पनि दर्शकको ध्यान तान्ने आश निर्माण पक्षको छ।
फिल्मको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ खुबै हिट छ। यसैले, कोरियोग्राफरले यो गीतमा जुनारको भरपुर प्रयोग गरेका छन्।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल कडरियाको लगानी छ। सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ।
यो फिल्ममा दया र आँचलको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ।
क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ। फिल्मले रमाइलो तरिकाले गम्भिर विषयवस्तु उठान गरेको निर्माणपक्षको भनाई छ।
Shares

प्रतिक्रिया