पछिल्लो समय गायिका एलिना चौहान सम्बन्ध विच्छेदको प्रसंगले चर्चामा छिन्। किनकि केही दिनअघि मात्र उनले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेदको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा निवेदन दिएकी छन्।
यसैबीच गायिका चौहान स्टेजमा गाउँदा गाउँदै भक्कानिएको भिडिओ क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
स्टेजमा उक्लिनासाथ एलिना आफ्नो चर्चित गीत ‘धोकेबाज हौ तिमी’ गाउन सुरु गर्छिन्। तर, गाउँदा गाउँदै उनको गला अवरुद्ध हुन्छ। त्यसपछि उनले पानी पिएर पुन: गीत गाएको भिडिओमा देख्न सकिन्छ।
जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो देखेसँगै यतिखेर कलाकारहरूले एलिनालाई ढाडस दिइरहेका छन्।
यसै क्रममा अभिनेत्री ऋचा शर्माले एलिनाको भिडिओ सेयर गर्दै खुला पत्र लेखेकी छन्।
उनले लेखेकी छिन्, ‘तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौँ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्यो होला, परिवारले चिन्ता व्यक्त गर्यो होला, धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर, म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ।’
उनले एलिनालाई यो साहस कायमै राख्नसमेत सुझाव दिएकी छन्। ‘जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन। तिम्रो आँटलाई म सलाम गर्छु’, शर्माले स्टाटसमा लेखेकी छन्।
यस्तो छ एलिनालाई ऋचाको खुलापत्र-
प्रिय एलिना,
तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ र मलाई थाहा छ- यो सजिलो निर्णय थिएन।
समाजले प्रश्न गयो होला- परिवारले चिन्ता व्यक्त गर्यो होला र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला।
तर, म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ।
साँच्चै, संगीत तिमीभित्र बाँचिरहेकी थियौ, तिमी त्यसैमा हराउन चाहन्थ्यौ। कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ।
विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन। जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन। तिम्रो आँटलाई म सलाम गर्छु।
धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन्। तर, तिमीले आफूलाई चुन्यौ, आफ्ना सपनालाई चुन्यौ। संगीत तिम्रो आत्मा हो र तिमीले त्यसैलाई अँगाल्यौ। तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस्। तिम्रो स्वर, तिम्रो संगीत संसारभरि गुञ्जिरहोस्।
यदि कहिल्यै थाक्यौ भने, सम्झनू- तिमी एक यस्ती साहसी मान्छे हौ, जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैँ कोरिन्। तिम्रो साथमा ऋचा शर्मा।
Shares

प्रतिक्रिया