‘नोभेम्बर मिस्टर एन्ड मिस नेसनल नेपाल’ को अडिसन सुरु
‘नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को अडिसन सुरु भएको छ।
शनिबार काठमाडौँस्थित होटल मण्डला नर्लिङमा फिजिकल अडिसन सुरु गरिएको हो।
शनिबारको अडिसनमा नेपाल आएकी मिस ग्लोब डायना मोरेनो जजको भूमिका निर्वाह गरिन्।
डायनासहित फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्वमिस ग्लोब नेपाल रोशनी चन्द्र, पूर्वमिस्टर इन्टरनेसनल मानस राई जजका रूपमा देखिए। अडिसन सुरु गर्नुअघि प्रेस मिट राखिएको थियो।
जहाँ यस वर्षको प्रतियोगितासहित अडिसनबारे जानकारी दिइयो। फागुन ३ गते काठमाडौँबाट सुरु भएको अडिसन देशभरिका सातै प्रदेशमा चल्नेछ।

फेब्रअरी २४ देखि उपत्यकाबाहिर झापा, इटहरि, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा हुनेछ।
जसको समयतालिका केही दिनमा सार्वजनिक गरिने बताइएको छ।
प्रतियोगितमा १८ देखि ३२ का महिला र १८ देखि ३४ सम्म पुरुषले अडिसन दिन पाउने सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा यस प्रतियोगिताका नेसनल डारेक्टर डाक्टर सन्तोष उपाध्यायले जानकारी दिए।
चौथो संस्करणको अडिसनबाटै अन्तर्राष्ट्रिय विजेताहरू जजका रूपमा राख्न सफल भएको उनको भनाइ छ। नेपालमा हुने सौन्दर्य प्रतियोगितामा ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय स्तरका विजेताहरूलाई ल्याएर जजको भूमिका राख्ने सनुर्वी इन्टरनेसनल पहिलो प्रतियोगिता भएको आयोजकको दाबी छ।
पहिलोपटक नेपाल आएकी मिस ग्लोब डायनाले पनि नेपालको बसाईं निकै रमाइलो लागिरहेको बताइन्। साथै आफू जज बन्न पाउँदा उत्साहित रहेको सुनाइन्।
यस प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दै छ।
जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ। मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन्।
मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड छन्। जुन मिस्टर एन्ड मिस नेसनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता रहेको आयोजकको दाबी छ।
Shares

प्रतिक्रिया