बहुप्रतीक्षित फिल्म ‘लाज शरणम’ सेन्सर पास भएको छ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यस फिल्मलाई आइतबार प्रदर्शनको अनुमति दिएको हो।
केही दिनअघि पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमले आफूजस्तै देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो।
आलम हाल हत्या अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन्।
सोही रिटलाई ध्यानमा राख्दै शुक्रबार बोर्डले यस फिल्मको जाँच गरेको थियो। तर सेन्सर बोर्डले रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि प्रदर्शनको बाटो खोलिदिएको हो। यस फिल्मलाई बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। अर्थात्, सबै उमेर समूहले यस फिल्मलाई हेर्न पाउनेछन्।
फिल्ममा कुमार कट्टेल (धुर्मुस) ले आलमजस्तै देखिने भूमिकामा देखिएका थिए।
चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको यो फिल्म कुमार कट्टेलको लेखन र निर्देशनमा बनेको हो। फिल्ममा सीतारामसहित अर्जुन घिमिरे, विजय बराल, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्षण थापा, रेणु योगी लगायतको अभिनय छ।
यो फिल्म फागुन १४ गतेबाट हलमा प्रदर्शन हुँदै छ।
Shares

प्रतिक्रिया