कला


‘काठमाडौं उत्सव’को पहिलो संस्करण यही १६ गतेदेखि हुने

‘काठमाडौं उत्सव’को पहिलो संस्करण यही १६ गतेदेखि हुने

नेपालखबर
फागुन १२, २०८१ सोमबार १४:४०, काठमाडौँ

नेपालमा आयोजना हुने विभिन्न कला साहित्य उत्सवहरुमा अर्को एउटा उत्सव थपिएको छ। ‘काठमाडौं उत्सव’ को पहिलो संस्करण फागुन १६ र १७ गते काठमाडौंमा हुन लागेको हो।

नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने महोत्सव साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरु समेटिएको काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरले बताए।

दुई दिनसम्म चल्ने काठमाडौं उत्सवमा जम्मा १५ वटा सत्रहरु रहने छन्। काठमाडौं उत्सवका संयोजक तथा कवि(गजलकार बाबु त्रिपाठीका अनुसार महोत्सवको सुरूवात आठ जना स्थापित कविहरुको कवितावाचनबाट हुनेछ। उद्घाटन क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई, बैरागी काइँला, तुलसी दिवस, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, दिनेश अधिकारी र होमनाथ सुवेदीले कविता वाचन गर्नेछन्।

त्यसपछिका कार्यक्रमहरु काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालको मन्तव्यसँगै अघि बढ्ने छ। अहिलेकी लोकप्रिय गायिका शान्तिश्री परियारको दुर्लभ संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मको सत्र महोत्सवको प्रमुख आकर्षण हो। शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा अन्तर्संवाद गर्नेछिन्।

त्यसैगरी उत्सवको पहिलो दिन लेखकहरू ध्रुवचन्द्र गौतम र बसन्त चौधरीबीच अक्षरका आयामहरु शीर्षकमा विशेष कुराकानी हुनेछ।
पत्रकार राजेन्द्र बाँनियाको सहजीकरणमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले सम्पदा, संस्कृति र सभ्यता शीर्षकमा काठमाडौंको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षहरुबारे छलफल हुनेछ।

ज्ञान विवेक र विज्ञान विषयमा हुने अर्को सत्र पनि पहिलो दिनको आकर्षणका रुपमा रहेको छ जसलाई  लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्।

विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीहरुसँग सानो संसार, ठूलो संसार शीर्षकमा भलाकुसारी गर्नेछिन्।

कला, साहित्य, संस्कृति, पर्यटन, शिक्षा, युवा, ज्ञान, विज्ञान र आध्यामिकताजस्ता विषय समेटिएको काठमाडौं उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। भुइँका कुरा एउटा यस्तै सत्र हो जसमा दशकौंदेखि मकै पोलेर र चिया पकाएर गुजारा चलाइरहेका आममान्छेका अनुभव सुन्न पाइने छ। भुइँका कुराको सहजीकरण लेखक विना थिङले गर्नेछिन्।

दोस्रो दिन चलचित्र निर्देशनमा नयाँ पुस्ता शीर्षकमा सत्र चल्नेछ। जसमा निर्देशकत्रय सुजीत बिडारी, कृषा चौलागाईं र अनिल बुढामगरले लेखक प्रभाकर गौतमसँग आफ्ना अनुभव साट्ने छन्। दोस्रो दिन नै फाइन आर्टसको सेरोफेरो कलाकारहरु एरिना ताम्राकार, एससी सुमन र ताराप्रसाद ओझबीच छलफल हुनेछ। कला एक फ्युजन शीर्षकमा हुने यो सत्र कार्टुनिस्ट रवि मिश्रले सञ्चालन गर्ने छन्।

ओम रिजाल, अमला अधिकारी, शैलेन्द्र अधिकारीबीच आख्यानमा द्वन्द्व र दर्शन शीर्षकमा छलफल हुनेछ। सत्रलाई आख्यानकार उमा सुबेदीले सहजीकरण गर्नेछिन्।

कला, साहित्य, संस्कृति, सम्पदा, पर्यटनसँगै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई पनि केन्द्रमा राखेर छलफलहरु राखिएको काठमाडौं उत्सवका सदस्य सचिव प्रज्वल अधिकारीले बताए। 

काठमाडौंको संस्कृति, सम्पदा र सभ्यताको क्षयीकरण भइरहेको सन्दर्भमा काठमाडौं उत्सवले यहाँका मान्छे, भाषा, इतिहास र संस्कृतिलाई जोड्न सानै भए पनि योगदान दिने आयोजकको दाबी छ।

संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौंको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिने आयोजकद्वारा जनाइएको छ। पाका कविका कविताहरूबाट सुरू हुने उत्सव नयाँ पुस्ताका कविताहरूसँग समापन हुनेछ। यो कार्यक्रम पत्रकार राधिका अधिकारीले उद्घोषण गर्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad