कला


‘मायावी’को प्रिमियरमा राजेशको प्रतिक्रिया: मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ

‘मायावी’को प्रिमियरमा राजेशको प्रतिक्रिया: मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ

नेपालखबर
फागुन १३, २०८१ मंगलबार ११:७, काठमाडौँ

शिवरात्रीको अवसरमा बुधबार रिलिज हुने फिल्म ‘मायावी’ लाई प्रिमियर शोमा रुचाइएको छ। फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने अभिनेता राजेश हमाल बुधबार उक्त फिल्मको प्रिमियरमा भने कीर्तिपुर सिनेप्लेक्स पुगे।

उनले दिवारकर भट्टराई निर्देशित फिल्म हेरेर उत्कृष्ट भनी तारिफ गरे। फिल्म हेरेपछि हमालले भने, ‘यो फिल्ममा हरेक कुरा छ। फिल्मको कथावस्तुले मन छुन्छ। गीत-संगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ ब्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ। कलाकारहरूले पनि निकै राम्रो काम गरेका छन्। यसैले, मायावीले बजार तताउने कुरामा विश्वस्त छु।’

लभ स्टोरीमा बेग्लै कथा रहेको उनले बताए। भने, ‘मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ। यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन। मान्छेको मन नै त हो नि, जता पनि जान सक्छ भन्ने देखाएको छ। यो लभ स्टोरी फिल्म विशेष छ।’

हमालले यसको प्रस्तुति निकै मन परेको बताए।

फिल्मका निर्देशक दिवाकर भट्टराइको अर्को फिल्म ‘नरसिंहाः अवतार’मा काम गरेका हमालले भने, ‘मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो। तर, यसको मेकिङ निकै राम्रो छ। यसैले, दिवाकरजीलाई वधाई दिन चाहन्छु। फिल्मको सुरुवातदेखि अन्त्यसम्म एउटा गति समातेर अगाडि बढेको छ। यसैले, दर्शकले यो फिल्म मन पराउनुहुन्छ भन्ने लागेको छ।’

फिल्म ‘मायावी’को प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरू सनीषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाललगायत पनि पुगेका थिए।

यस्तै, फिल्मका मुख्य कलाकारहरू दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नवनायक समीम खान पनि पुगेका थिए। फिल्मका अभिनेता पल शाह भने अर्को एक फिल्मको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सकेनन्।

फिल्म हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए। लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा फिल्म बनेको फिल्मीकर्मीको भनाइ छ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो फिल्मले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ।

यसैबीच, यो फिल्मको बुकिङ देशभरका मल्टिप्लेक्सले खुलाएका छन्। सोमबार बेलुकीबाट नै देशभरका मल्टिप्लेक्समा फिल्मले सुखद शोज पाएको छ।

क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, आई एन आई, एफक्यूब लगायतका मल्टिप्लेक्सले फिल्मको शोज खुलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad