फागुन २९ गते रिलिज हुन लागेको फिल्म ‘आउटलः दफा २१९’ दर्शकका लागि प्रतीक्षित छ।
यो फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए। फिल्मको ट्रेलर केही दिनमा रिलिजमा आउँदै छ।
यसैबीच निर्माण पक्षले ‘न्याय’ शीर्षकमा ‘र्याप प्रतियोगिता’ आयोजना गरेको छ।
स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मको ‘र्याप प्रतियोगिता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शीर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन्।

प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडिओ पठाउन सक्ने निर्माण टिमले बताएको छ। प्रतिस्पर्धीले पठाएको भिडिओ फिल्मको सामाजिक सञ्जालमा एकाउन्टमा पोस्ट गरिनेछ।
सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माण पक्षले बताएको छ।
फागुन २३ गतेसम्म गीतको भिडिओ तयार पारेर पठाउनुपर्नेछ । यो फिल्मले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शीर्षकमा प्रतियोगिता आयोजना गरिएको फिल्मका निर्माता अमित अग्रहरिले जानकारी दिए।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सहनिर्माताका रूपमा छन्।
फिल्ममा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन छ। यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारीलगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया