लोकप्रिय नेपाली ब्यान्ड कन्दरा पहिलोपटक इलाममा गुञ्जिने भएको छ। ग्याल्पो ल्होछारको अवसरमा भोलि शुक्रबार त्यहाँको सूर्योदय गरपालिका–१२ स्थित करफोक खेलमैदानमा ब्याण्डले प्रस्तुति दिन लागेको हो।
सूर्योदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजनामा कन्सर्ट हुन लागेको हो। संघका अध्यक्ष प्रज्वल प्रधानले स्थानीय पर्यटन प्रवद्र्धनको लागि कन्दराको ब्याण्डको कन्सर्ट आयोजना गरिएको बताए।
‘कन्दरा आफ्नो स्थापनाको ३२ वर्षे यात्राको सांगीतिक कार्यक्रम लिएर ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत विश्व भ्रमण गरिरहेको छ। यो ब्याण्डले हाम्रो नगरको प्रचारप्रसारमा सहयोग पुग्नेछ ,’उनले भने।
ब्याण्डका अगुवा तथा मुख्य गायक विवेक श्रेष्ठ पनि उत्साहित सुनिए। ब्याण्डको ३२ वर्षको इतिहासमा पहिलोपटक पूर्वी नेपालको इलाममा प्रस्तुति दिन लागेकोमा आफूहरू उत्साहित रहेको उनले सुनाए।
उनले भने, ‘यो ऐतिहासिक ठाउँमा यस्ता कन्सर्ट एकदमै कम हुने गरेका छन्। सम्भवतः हाम्रो दोस्रो ब्याण्ड हो। भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट पनि दर्शक आउन लाग्नुभएको छ। यसकारण पनि यो कन्सर्ट ऐतिहासिक हो जस्तो लाग्छ।’
उनले करफोक कन्सर्ट हब बन्न सक्ने बताए। ‘कन्यामबाट नजिक पर्ने यो ठाउँ कन्सर्ट हब नै हुन्छ जस्तो मलाई लाग्छ। यसले हाम्रो आन्तरिक पर्यटन पनि हुन्छ जस्तो मलाई लाग्छ। फेरि एकपटक सबैजनाले कन्दरालाई आफ्नो मनमा आत्मसात गर्नुहुन्छ जस्तो लाग्छ।’
पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्याण्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ। पोखरा र काठमाडौंमा ब्याण्डले प्रस्तुति दिइसकेको छ। बेलायतबाट अन्तर्राष्ट्रिय टूर सुरु गरेको ब्याण्डले कतार, युएई र हङकङमा प्रस्तुति दिइसकेको छ। चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुञ्जिने ब्याण्डको तयारी छ।
मार्च देखि अप्रिलसम्म अस्ट्रेलियाका ८ सहरमा ब्याण्डले प्रस्तुति दिनेछ। होबर्टमा मार्च ८, मेलबर्नमा मार्च १५, क्यानबेरामा मार्च २२, एडिलेडमा अप्रिल १२ मा कन्सर्ट तय छन्। सोही छेकोमा न्यूजिल्याण्डमा पनि ब्याण्डले प्रस्तुति दिनेछ।
ब्याण्डको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन्।
Shares

प्रतिक्रिया