राजनीति


नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह

फाइल फोटो


नेपालखबर
फागुन १५, २०८१ बिहिबार १५:२०, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्वसमुदायलाई आग्रह गरेकी छन्।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी उनले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिलाई नेपालको पक्षमा मतदान गर्न आग्रह गरेकी हुन्।

जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ मन्त्री डा देउवाको सम्मानमा तथा विभिन्न देशका स्थायी नियोग र अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुखका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर मत दिन आग्रह गरिन्।  

सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसङ्घीय स्थायी नियोगका प्रमुख तथा राजदूत र विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले भनिन्, ‘नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा कार्यरत छ। मानवअधिकारको रक्षा र प्रवर्द्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ। यही प्रतिबद्धताका साथ नेपालले यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ। संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु।’
 
मन्त्री डा देउवाले भनिन्, ‘नेपालको वर्तमान संविधानले नागरिकको स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत अधिकारलाई मौलिक हकका रूपमा समेटेको छ। नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहिआएको छ।’

उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेस गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पनि यथाशीघ्र टुङ्ग्याउने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन्।  

मन्त्री डा देउवाले पछिल्लो समयमा नेपालले बाल, महिला तथा अल्पसङ्ख्यकको अधिकारका साथै समावेशताका क्षेत्रमा उपलब्धि हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रहिआएको पनि स्पष्ट गरिन्।

यसअघि मन्त्री डा देउवाले गत मङ्गलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन्। जेनेभामा जारी सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिको सहभागिता छ।

मन्त्री डा देउवा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन्। उनी शुक्रबार बिहान स्वदेश फर्कँदै छिन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad