बागमती प्रदेश सरकारको नेतृत्व (एमाले) ले पाउने सत्ता साझेदारीको सहमतिले सरकार गठनको बाटो खुले पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र भने नेतृत्व बाँडफाँडको आधारबारे प्रश्न उठ्न थालेको छ।
बागमती प्रदेश सभामा नेकपाका मुख्यमन्त्रीका आकांक्षी गंगानारायण श्रेष्ठले सार्वजनिक रूपमा पार्टी नेतृत्वसँग जवाफ माग्दै असन्तुष्टि व्यक्त गरेका छन्। बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपाले मुख्यमन्त्री नपाएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रदेश सरकारको नेतृत्व कुन आधारमा बाँडफाँड गरिएको भनेर प्रश्न गरेका छन्।
‘प्रदेश सरकारको नेतृत्व बाँडफाँड कुन कुन आधारमा गरियो? त्यसको जवाफ नेतृत्वले जनतालाई दिनैपर्छ,’ श्रेष्ठले भनेका छन्।
उनले अहिलेको अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर बनेको स्वीकार गर्दै एमालेसँगको सहकार्यलाई अस्वीकार नगरे पनि नेतृत्व बाँडफाँडको आधार भने ठोस र वैज्ञानिक हुनुपर्ने धारणा राखेका छन्।
उनले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आफू सुरुदेखि नै दाबेदार रहेको स्पष्ट पार्दै मन्त्री पदका लागि भने कुनै दाबी नरहेको बताएका छन्। ‘मेरो दाबी सुरुदेखि अहिलेसम्म मुख्यमन्त्रीमा थियो। एकथान मन्त्रीको लागि मेरो कुनै दाबी छैन,’ उनले लेखेका छन्।
नेकपा र एमालेबीच भएको सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ।

प्रतिक्रिया