नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्।
मंगलबार संसदीय सुनुवाई समितिमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा सांसद पुनले यस्तो बताएका हुन्।
सांसद पुनले प्रस्तावित आयुक्त सुब्बाको २५ वर्षको कार्यअनुभव, सूचना प्रविधि (आईटी) क्षेत्रको विज्ञता र संयुक्त राष्ट्रसंघीय मिसनमा गरेको कार्यसम्पादनको प्रशंसा गर्दै उनको अवधारणा पत्र र प्रस्तुती प्रभावकारी रहेको बताए।
पुनले निर्वाचनमा भित्रिएको नयाँ प्रविधि र त्यसले निम्त्याउन सक्ने चुनौतीबारे चिन्ता व्यक्त गरे। आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिपफेक र एल्गोरिदमका कारण निर्वाचनको समयमा भ्रामक र उत्तेजक सामग्री प्रचार हुनसक्ने उनले उल्लेख गरे।
सांसद पुनले मुलुकबाहिर रहेका ठूलो संख्याका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए। हालैको निर्वाचनमा मतदान प्रतिशत न्यून रहेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगमार्फत निर्वाचन क्षेत्र बाहिर र विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगलाई सुझाव दिए।
विकसित मुलुकहरूमा समेत प्रविधिमार्फत निर्वाचन प्रभावित पार्ने प्रयास भइरहेको सन्दर्भमा नेपालले यसको सुरक्षा र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने उनले बताए।
पुनले भने, ‘निर्वाचनको समयमा प्रविधिको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने र उम्मेदवारको चरित्र हत्या गर्ने जोखिम बढेको छ। यो आगामी निर्वाचनको मुख्य चुनौती हो। ईभीएमको प्रयोगले मतपरिणाम छिटो आउने भएपनि यसको ह्याकिङ र सुरक्षा सुनिश्चितता मुख्य विषय हो।’
विगत एक दशकदेखि ईभीएमको चर्चा चले पनि यसको विश्वसनीयतामाथि अझै प्रश्न उठिरहेको पुनले बताए। पुनले ईभीएमसँगै म्यानुअल अडिटको व्यवस्था गरी विश्वसनीयता बढाउन सकिने बताए।
Shares

प्रतिक्रिया