‘फेरि रेशम फिलिली’को समीक्षा गर्नुअघि साढे ९ वर्षअघि रिलिज भएको फिल्म ‘रेशम फिलिली’को चर्चा गरौँ। त्यो फिल्मभित्र कामेश्वर चौरासियाले निर्वाह गरेको एउटा मधेसी पात्र छ, हरिनारायण मण्डल ‘हरिया’। फिल्ममा हरिया रिसको झोँकमा बाख्रासँग जबर्जस्ती संसर्ग गर्न खोज्छ। ऊ केटी जिस्काउने फटाहा पनि हो। ऊसँगै साथी रेशम (विनय श्रेष्ठ)ले उभिएर पिसाब फेर्दा ऊ बसेर पिसाब फेर्छ।
आफ्नो अभिनयका कारण कामेश्वरले यो फिल्मबाट उल्कै चर्चा कमाए। तर, यस्तै दृश्यका कारण त्यतिबेला यो फिल्म आलोचित बनेको थियो। नेपाली फिल्मले वर्षौंदेखि बोकिरहेको मधेसी चरित्रलाई उपहास गरेर फिल्ममा हास्य सिर्जना गर्ने र दर्शक हँसाउने ध्येयलाई यो फिल्मले पनि पछ्याएको भन्दै आलोचना भएको थियो।
अब प्रश्न उठ्छ– ‘फेरि रेशम फिलिली’मा फेरि त्यस्तै छ त हरिया?
सन्तोष मान्नुपर्छ, निर्देशक फेरिएसँगै यसपटक हरिया पनि फेरिएका छन्। ‘रेशम फिलिली’ प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’ निरोज महर्जनले। यद्यपि प्रमुख पात्रहरू उस्तै छन्। उनीहरूको सपना फेरियो होला तर स्वभाव, बोल्ने शैली सबै उस्तै छ।
‘रेशम फिलिली’मा रेशम बहिनी सुन्तलीको धुमधामसँग बिहे गराउन र आमाको सपना पूरा गर्न कतार जान चाहन्थ्यो। तर, काठमाडौँको गोलचक्करमा फिलिली फसिरह्यो। ‘फेरि रेशम फिलिली’मा यसपटक उनलाई साथीहरूले ठट्टैठट्टामा भरिदिएको डीभीका कारण अमेरिका जाने चिठ्ठा परेको छ। तर, गाउँका साथीहरू र सिंगो गाउँले रिसले जलेका छन्। यद्यपि रेशमको परिवारलाई हेप्ने गाउँलेहरूको व्यवहार एक्कासि बदलिएको छ।
गाउँका केटाहरूले रेशमको पासपोर्ट चोर्न खोजेपछि उनकी आमा (लक्ष्मी गिरी) स्वयं उनलाई एयरपोर्ट छाड्न काठमाडौ पुग्छिन्। बिदाइको भावुक दृश्यसँगै आमा–छोरा छुट्टिन्छन्। एयरपोर्टको अन्तराष्ट्रिय टर्मिनलतर्फ छिर्नै लाग्दा रेशमलाई थाहा हुन्छ– उनको पासपोर्ट आमासँगै छुट्यो। अत्तालिँदै जब उनी आमालाई खोज्न थाल्छन्, त्यसपछि फेरि थाहा हुन्छ– आमा दोर्जे डन (शिशिर वाङ्देल) को अपहरणमा परिन्।
‘रेशम फिलिली’ हेर्नुभएको छ भने दोर्जे पक्कै चिन्नुहुन्छ। नचिने पनि फिल्म बुझ्न पहिलो शृंखला हेर्नैपर्ने बाध्यता भने छैन। फिल्मको पहिलो शृंखलामा रेशम काठमाडौँमा सपनाको पछि दौडिरहँदा दोर्जे डनसँग ठोक्किएका हुन्छन्। दोर्जेले उसलाई एउटा काम लगाएको हुन्छ, जुन बिगारेपछि तिर्नुपर्ने २५ लाखका कारण उनी समस्यामा फसेका हुन्छन्। पहिलो शृंखलामा पनि उम्किएपछि दोस्रो शृंखलामा त्यही २५ लाखले ट्विस्ट ल्याइदिन्छ।
अपहरणमा परेकी आमालाई छुटाउन रेशमले २५ लाख तिर्नुपर्ने हुन्छ। सपनाको सहरमा आइपुगेपछि फेरि एकपटक उनको सपना बिथोलिन्छ। के रेशम आमालाई छुटाएर अमेरिका जान सफल हुन्छ त? अघिल्लो शृंखलामा भनिएझैँ के अब उसको जीन्दगीको लोडसेडिङमा दियो बल्छ त?
यिनै प्रश्नको जवाफ नै ‘फेरि रेशम फिलिली’को कथा हो। कथावाचन फिल्मको विधाअनुसार फरक हुनसक्छ। ‘फेरि रेशम फिलिली’ फार्स कमेडी विधामा आधारित रहेर बनेको फिल्म हो। कुनै पनि घटनाहरूलाई अतिरञ्जित अर्थात् बढाइचढाइ गरेर देखाउनु फार्स कमेडी विधाको विशेषता नै हो। यो विधाको फिल्ममा पात्रहरू अति नाटकीय लाग्छन्। फिजिकल कमेडी, द्रुत गतिको कथा, पात्रको अस्वाभाविक हर्कत, अत्यन्त संयोगपूर्ण घटना यो विधाका विशेषता हुन्। छिमेकी भारतबाटै उदाहरण लिने हो भने ‘हेराफेरी’, ‘हंगामा’, ‘धमाल’, ‘गोलमाल’ सिरिज आदिले यही विधामा आधारित रहेर चर्चा कमाएका थिए।
हसाउँदा हसाउँदै गम्भीर सन्देश छाड्नु फार्स कमेडी फिल्मको उद्देश्य नै हुन्छ। ‘फेरि रेशम फिलिली’ पनि यो मानेमा केही हदसम्म सफल देखिन्छ। अहिलेका युवाहरूको वैदेशिक रोजगार र अमेरिकी सपनालाई देखाउँदै देशमै केही गर्नुपर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ। यौनिक तथा अल्पसंख्यक नागरिकप्रति नेपाली समाजको मनोविज्ञान र त्यसले पारेको असरबारे पनि फिल्मले केही भन्न खोजेको छ।
यो फिल्मले दर्शकलाई हेरुन्जेल ‘बोर’ हुन नदिए पनि कमजोरीमुक्त भने छैन। एउटा पासपार्टका कारण प्रमुख पात्र समस्याको गोलचक्करमा फस्ने र मसिनो कथालाई बृहत् बनाउँदै अघि बढाउने निर्देशकको ‘आइडिया’ गज्जब नै हो। तर, विषयहरू छरिएर पटकथा कसिलो हुन नसक्दा फिल्म अनावश्यक तन्किएको छ। रेशम गाउँबाट काठमाडौँ हिँड्नुअघि गाउँलेहरू उनको घरमा आएर गर्ने संवादका दृश्य अनावश्यक लम्ब्याइएको छ। रौनकपुरमा रेशमको पासपोर्टका लागि देखाइएको भागदौडको दृश्यले क्लाइमेक्सको रौनकमा असर पुर्याएको छ।
हरिया, ज्वाला सिंह (नीर शाह) लगायतका पात्रहरूले बोल्ने डायलगको पिच हाइ हुँदा यसले फिल्मलाई लाउड बनाएको छ। फिल्म स्टेज प्रस्तुति या रंगमञ्च होइन। रंगमञ्चमा पो दर्शककै अगाडि प्रत्यक्ष अभिनय गर्ने भएका कारण संवाद बोल्दा दर्शकले सुन्ने हुनुपर्छ। तर, फिल्ममा पनि यसरी पात्रहरूलाई चिच्याउन लगाउँदा दर्शकलाई झर्को लाग्छ।
यद्यपि, पहिलो शृंखलामा झैँ फिल्ममा कामेश्वरले निर्वाह गरेको ‘हरिया’ पात्रले दर्शकलाई ‘बोर’ हुन दिँदैन। पुरानै टोनमा हरियाले बोल्ने डायलगहरूले दर्शक हँसाइरहन्छ। रेशमको भूमिकामा विनय श्रेष्ठको अभिनय लोभलाग्दो छ। फिल्म ‘लाउड’ भए पनि उनी ‘शान्त’ छन्। गाउँको सोझो युवाको भूमिकामा देखिएका उनको ‘डायलग डेलिभरी’ स्वादिलो लाग्छ। हाँसिरहेका दर्शकलाई ठाउँ ठाउँमा उनकै दृश्यले एक्कासि भावुक बनाइदिन्छ। एयरपोर्टमा आमासँगको दृश्य एउटा उदाहरण हो।
रौनकपुरका डन ‘ज्वाला सिंह’को भूमिकामा देखिएका नीर शाह अलि ‘लाउड’ देखिएका छन्। छोरा रेशमलाई सोझो र डरपोक देखाइरहँदा आमाको भूमिकामा लक्ष्मी गिरीलाई साहसी र निडर देखाइएको छ। नेपाली फिल्ममा महिलाको कमजोर चरित्रचित्रणमाथि प्रश्न उठिरहेका बेला निर्देशकले लक्ष्मीको चरित्रलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ।
अमेरिका जान लालायित युवतीको भूमिकामा सुपुष्पा भट्ट पनि उस्तै सशक्त ढंगले प्रस्तुत गरिएकी छन्। समलिङ्गी पुरुष रहेका उनका दाइ बुवासँग खुलेर आफ्नो भावना राख्न सक्दैनन् तर उनी निडर र साहसी देखाइएकी छन्। बुबालाई केही भन्न सक्दैनन्, के भन्नुपर्यो भने बहिनीकै सहारा लिन्छन्। दर्शकलाई हसाउँदा हसाउँदै नै किन नहोस्, निर्देशकले यी दुई पात्रमार्फत अब महिलाहरू कसैसँग डग्दैनन्, कमजोर छैनन् भन्ने सन्देश दिन खोजेको देखिन्छ। मुरारीको भूमिकामा प्रकाश दाहालको अभिनयले पनि दर्शकको ध्यान खिच्छ।
समलिंगी पुरुषको भूमिकामा महेश त्रिपाठीको अभिनय स्वाभाविक र जीवन्त छ। यद्यपि, यौनिक तथा अल्पसंख्यकको मुद्दामा कथाको ‘ट्रिटमेन्ट’ पर्याप्त छैन। फिल्मको अन्त्यसम्म दुई समलिंगी युवकबीचको प्रेममा अनेक अवरोध आउँछन् तर पनि दर्शकहरूलाई पात्रप्रति गहिरो ‘इमोसन’ जाग्दैन। समाजले यौनिक तथा अल्पसंख्यकहरूको प्रेम र भावनालाई कसरी अस्वीकार गरिरहेको छ भनेर फिल्मले देखाउन खोजे पनि ती पात्रहरूको गहिराइमा पुगेर उनीहरूको दिनचर्या, सपना, आकांक्षा र पीडाहरूलाई देखाउन नसक्दा दर्शकहरू जोडिन सक्दैनन्। निर्देशकले एउटै फिल्मबाट धेरै कथा र सन्देशहरू दिन खोज्दा यस्तो समस्या आएको सहजै अनुमान गर्न सकिन्छ। फिल्मको ब्याकग्राउन्ड म्युजिक भने गज्जब छ, कथाको ‘मुड’लाई समात्न सफल भएको छ।
अभिनयमा राम्रो छाप छाड्दाछाड्दै पनि ‘अन्डरेटेड’ छन्, विनय र कामेश्वर। ‘फेरि रेशम फिलिली’ले फेरि एकपटक उनीहरूको अभिनय क्षमता पुष्टि गरेको छ। अवैध रूपमा अमेरिका पुगेका ८ जना नेपालीलाई बुधबार डिपोर्ट गरी जहाजभित्र २४ घन्टासम्म हातमा हतकडी र खुट्टामा नेल लगाएर काठमाडौँ फर्काएको खबर आइरहेका बेला क्लाइमेक्सको एक दृश्यले दर्शकलाई झस्काउन सक्छ। तपाईं फार्स कमेडी विधा पछ्याउनुहुन्छ भने यो फिल्म हलमा हेर्न गए हुन्छ, निराश पक्कै बनाउँदैन। बरु ‘फिलिली’ चाहिँ बनाउन सक्छ।
Shares

प्रतिक्रिया