आगामी दसैँको फूलपातीमा रिलिज हुने नेपाली फिल्म ‘बलिदान’ को मुख्य पात्रमध्ये एक किरण पात्रको लुक सार्वजनिक गरिएको छ। यस पात्रमा नव अभिनेत्री कविता रायलाई देख्न सकिन्छ।
पोस्टरमा किरण पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन्। उनको अनुहार र हातमा रगत लागेको छ। हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ। समग्रमा पोस्टरले एक महिला पात्रको सङ्घर्ष, हिंसा, प्रतिरोध, र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ।
चलचित्रका निर्देशक सन्तोष सेनले बलिदानमा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए।
जुन वर्गलाई उनले यस चलचित्रमा भिल्ला वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई भिल्लमगढ नामाकरण गरेका छन्। सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ।
सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसन मार्फत कविता रायलाई छनोट गरिएको थियो। मुख्य भूमिकामा यो चलचित्र नै रायको पहिलो चलचित्र हो।
यस फिल्ममा अभिनेता समीर भट्ट मुख्य भूमिकामा छन्। साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र ‘आसुसेन फिल्म्स् प्राली’ को प्रस्तुति हो। यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन्।

प्रतिक्रिया