गत असोज २३ गते। गायक अर्जुन सापकोटा र दीपा सिम्खडाबीच काठमाडौंस्थित गोंगबुको एक ब्यांक्वेटमा बिहे भइरहेको थियो। म्युजिक भिडिओ निर्देशक विशाल घिमिरेको एउटा जम्बो टोली नै उनीहरुको बिहे खिच्न पुगेको थियो। बिहेजस्तो जीवनकै महत्त्वपूर्ण उत्सवलाई क्यामरामा कैद गर्ने प्रथा पुरानै हो। त्यसैले अर्जुनको बिहेमा सहभागी दुवै पक्षका बुबाआमादेखि आफन्त र निम्तालुले पनि त्यसलाई त्यसरी नै बुझेका थिए।
तर, त्यसको एक सातापछि जब अर्जुनले एउटा गीत बजारमा सार्वजनिक गरे, परिवारभित्रै खैलाबैला भयो। कारण, त्यो गीत आफ्नै बिहेमा खिचिएको भिडिओमाथि बनेको थियो। नेपालखबरको सेलिब्रेटी सो ‘लेट्स टक’मा गीतबारे उठेको प्रसंगमा अर्जुन भन्छन्, ‘थाहै नदिई खिचेको गीतको भिडिओ हेरेर सासू आमा र ससुरा बुबा खुब रुनुभयो।’
यतिखेर यो गीतले आम दर्शकलाई पनि छोइरहेको छ। नवजोडीले यो गीतमाथि मण्डपमै बनाएका क्लिपहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। सायद कसैको बिहेमा पुग्नुभएको छ भने तपाईले पनि पक्कै सुन्नुभएको होला यो गीत :
‘आश पनि तिमी, खास पनि तिमी
मुटुको ढुकढुकी अनि सास पनि तिमी
अब जीन्दगी सँगै काटम्ला...’
‘बिहे भनेको जीवनकै ठूलो उत्सव हो। यसलाई कहीँ न कहीँ कैद गर्छु भन्ने पहिल्यैदेखि लागेको थियो,’ अर्जुनले भने, ‘श्रीमतीसँग म्युजिक भिडिओ नै बनाउँ न भन्ने सल्लाह भयो। भाइ सन्तोष सापकोटालाई त्यस्तै शब्द लेख्न लगाएँ। बजारका चल्तीका म्युजिक भिडिओ निर्देशक र क्यामराम्यानलाई सुटिङको जिम्मा दिए। मैले त आफ्नो सम्झनाका लागि गीत बनाएको थिएँ तर रिलिज भएपछि यो गीत यस्तो बन्दियो कि जसको बिहेमा पनि घन्किन थाल्यो।’

दर्शकलाई आफ्नो बिहे गीतमा देखाउन पाएकोमा उनी गद्गद् छन्। तर, त्यसदिन एकैपटक बेहुला र कलाकार दुवैको भूमिका निर्वाह गर्न उनलाई सहज थिएन। क्यामराको लेन्सले पछ्याइरहेको थियो, हाँस्ने कि रुने उनी द्विविधामा थिए।
‘बिहे हो कि सुटिङ, म त आफैँ कन्फ्युजनमा थिएँ,’ उनले सम्झिए, ‘म त नर्भस थिएँ। घरीघरी बिहेजस्तो लाग्थ्यो। घरी घरी सुटिङ। तर, अरु कसैलाई पनि गीत खिचिरहेको भन्ने थाहा दिएको थिएन। त्यसैले उनीहरु नर्भस हुन पाएनन्। पछि आफन्तहरुले गीत खिचेको भन्ने थाहा पाएको भए अलि बढी तयार हुन्थेँ अनि क्यामेरामा देखिन्थेँ नि भनेर गुनासो गर्नुभयो।’
युट्युबमा ६४ लाखभन्दा बढीपल्ट हेरिएको यो गीतमा अर्जुनसँगै देवी घर्ती र समीक्षा अधिकारीले स्वर दिएका छन्।
२६ वर्षीय अर्जुन अहिले लोकदोहोरी संगीतमा चर्चित र व्यस्त नाम हो। उनका अधिकांश गीत युट्युबमा करोडभन्दा बढीपल्ट हेरिएका छन्। लोकदोहारी क्षेत्रमा ‘करोड क्लब’का गायक भनेर चिनिएका उनको ‘वनकी चरी’, ‘गलबन्दी लिइस्यो’, ‘दुई दुना चार’, ‘फुल्यो गुराँस, ‘डाँडैको टुनी, सम्झिदिए हुनी’ र ‘बस्यो अलक्कै’ युट्युबमा एक करोडभन्दा बढीपल्ट हेरिएका गीत हुन्।

अर्जुनसँग त्यस्तो के जादुको छडी छ, जसकारण उनका हरेक गीत करोड क्लबमा पुगिरहेका छन्। यो जिज्ञासामा अर्जुनको सिधा जवाफ छ– संगीतप्रतिको लगाव।
‘म बच्चैदेखि तँ के बन्छस् भन्दा गायक बन्छु भन्थेँ,’ उनले भने, ‘संगीतप्रतिको लगाव अलि बढी नै छ मेरो। मलाई यसमा काम गरेजस्तो भन्दा पनि कुनै खेल खेलिरहेजस्तो महसुस हुन्छ।’
‘गीत हिट बनाउने सूत्र के हो? ट्यालेन्ट, ट्रेन्ड, भाग्य कि संघर्ष?’ यो प्रश्नमा अर्जुन सबै चिज उत्तिकै आवश्यक रहेको बताउँछन्।
‘ट्यालेन्ट त सुरुमै चाहिने कुरा भयो तर यहाँ ट्यालेन्ट भएर मात्रै गीत चल्दैन,’ उनले भने, ‘ट्रेन्डलाई पछ्याउन पनि सक्नुपर्छ। अहिले दर्शकहरुले के रुचाइरहेका छन्, उनीहरुको मनोविज्ञान पहिल्याउन सक्नुपर्छ।’
अहिले धेरैजसो दर्शकले लोक भाका मनपराइरहेको तर बाजा र फिल चाहिँ फ्युजन खोजिरहेको उनको दाबी छ।
उनी गायनमा मात्रै होइन, संगीतमा पनि उत्तिकै पोख्त छन्। आफ्नो गीतको संगीत आफै भर्छन्।
‘म धेरैजसो राति बसिरहेका बेलामा लय बनाउँछु ,’ उनले भने।
उनको सबैभन्दा हिट गीत हो– ‘हजुरलाई जाडो भा’ होला, मेरो गलबन्दी लिइस्यो।’ युट्युबमा यो गीतको भ्युज तीन करोड ४० लाखभन्दा बढी छ। उनले यो गीतको भाका आफूले ट्याक्सीमा चढेका बेला बनाएको खुलाएका छन्।
अर्जुनका अनुसार रविन लामिछानेले लेखेको यो गीतमा सुरुमा ‘हजुरलाई’ भन्ने शब्द थिएन। यसको ठाउँमा ‘विचरा’ शब्द थियो। ट्याक्सीमा बसिरहेका बेला लय फुराउने क्रममा अर्जुनले शब्द गुन्गुनाए–‘हावा चिसो चिसो, विचरा जाडो भा’ होला, मेरो गलबन्दी लिइस्यो।’
‘के नमिले, के नमिलेजस्तो भयो,’ अर्जुन यो गीतको लय फुराउँदाको क्षण सम्झन्छन्, ‘त्यसपछि ‘विचरा’ होइन, मान्छे तोकेर ‘हजुरलाई जाडो भा’ होला’ नै भन्नुपर्छ भनेर त्यसरी नै गुन्गुनाएँ। गीत यति चल्यो कि मेला, महोत्सव, पार्टी, पिकनिक, पञ्चेबाजा जहाँ पनि बज्न थाल्यो। मैले गाएमध्येको सबैभन्दा बढी बज्ने गीत यही होला।’

गीतमा उनीसँगै रविन लामिछाने र समीक्षा अधिकारीको पनि स्वर छ। गीत रविनले नै लेखेका हुन्। अर्जुनका अनुसार सुरुमा यो गीत उनका लागि भनेर लेखिएको थिएन। रविनले यो गीत अरु कसैका लागि भनेर लेखेका थिए, उनका भाका बनाइदिन भनेका थिए। तर, जब भाका बनाउन थाले, अर्जुन स्वयंलाई नाच्ने ‘भाइब्स’ आयो।
‘मलाई आफै गाउन मन लाग्यो,’ अर्जुन सम्झन्छन्, ‘ट्याक्सीमा बसेर भाका बनाउँदा नै आफैलाई अर्कै भाइब्स आयो। नाच्न मन लाग्यो। त्यसपछि आफै गाइयो। ’
‘वनकी चरी वनैमा रमायो
सँगै जीवन काटौँला भन्ने मयाले
अन्तै घरबार जमायो ...’
अर्जुनलाई पहिलोपल्ट चिनाएको अर्को हिट गीत हो ‘वनकी चरी’। यो गीतसँगको किस्सा पनि रोचक छ। स्याङ्जाबाट बसाइँ सरेर नवलपुर आएका अर्जुनका हजुरबुबा भजन गाउँथे। बुबा र काका गीत गाउँथे। त्यसकारण उनको हुर्काइ नै सांगीतिक माहोलमा भयो।
उनी धेरैजसो बुबा र काकाले संगीत भरेका गीत गाउँथे। एकपटक आफै ‘ट्राइ’ गर्छु नि भन्दा निस्किएको भाका हो यो।
‘त्यसपछि किबोर्ड थिच्दै यो भाका गुन्गुनाउँदा मज्जा पो आयो,’ अर्जुनले सम्झिए, ‘गीत दाजुभाउजूलाई सुनाए। उहाँहरुले पनि राम्रो प्रतिक्रिया दिनुभयो। मलाई त्यतिबेला कतिबेला गीत अपलोड गर्नुपर्छ भन्ने पनि थिएन। त्यत्तिकै राति ११ बजेतिर अपलोड गरेर सुतेको थिएँ। बिहान उठ्दा त गीत हिट भएछ। आदर्श मानेका संगीतकर्मीहरुले पनि सेयर गरेका देखेर ममा खुसीको सीमा थिएन।’
एउटा हिट गीतको खाँचो भइरहेला बेला उनलाई यो गीतले ठूलो राहत दियो। त्यसपछि संगीत क्षेत्रमा उनले नयाँ परिचय पाए– ‘वनकी चरी गाउने भाइ।’

यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। उनका अधिकांश गीत ‘ब्याक टु ब्याक’ हिट भए। मेला महोत्सवमा प्रस्तुति दिन उनलाई अहिले भ्याइनभ्याइ छ। धादिङ, नुवाकोटतिर पञ्चेबाजामा तपाईंले पक्कै ‘फुल्यो गुराँस’ गीत सुन्नुभएको होला। यसमा राजु परियार, कमला घिमिरे र लक्ष्मी खड्कासँग उनले पनि गीत गाएका छन्। उनको गाएको यो टुक्का टिकटकमा खुब हिट छ।
‘छेउमा बस्ने साथीले सुन्छ कि
एकान दुकान मैदान पो हुन्छ कि,
फूल्यो गुराँस
ए भनम् कि नभनम्, एउटा कुरा छ ..’
अर्जुनलाई हामीले ‘लेट्स टक’को ‘क्विक सेभेन’ सेग्मेन्टमा सोध्यौँ– ‘तपाईंका गीतमा आँसु, हाँसो, माया, बिछोड सबै हुन्छन्। यी चारमध्ये तपाईंलाई कुनचाहिँ सबैभन्दा सत्य लाग्छ? किन?’
जवाफमा उनले भने, ‘मलाई माया सत्य लाग्छ। किनभने मायाले नै आँसु पनि झार्छ, हाँसो पनि ल्याउँछ, बिछोड पनि गराउँछ।’
त्यसपछि अर्को एउटा प्रश्न थियो– ‘तपाईंका लागि सफलता के हो? पैसा, लोकप्रियता या मर्नुअघि छाडेर जाने आफ्नो नाम?’
‘अफकोर्स, नाम हो नि,’ जवाफमा उनी प्रष्ट सुनिए, ‘तर, नाम पनि कसरी छाड्ने भन्ने महत्त्वपूर्ण हो। संसारभर नाम चलेको व्यक्तिको विदाइ त्यहीअनुसार छ। जीवनमा पैसा त जसले नि कमाउँछ। आज छैन, भोलि हुनसक्छ। तर, मान्छेले जीवनभर सम्झिरहने काम गर्नुचाहिँ महत्त्वपूर्ण हो।’

प्रतिक्रिया