गत कात्तिकमा रिलिज भएको ‘पूर्ण बहादुरको सारंगी’ले बक्स अफिसमा नयाँ इतिहास रचिसकेको छ। यस फिल्मले देशविदेशबाट ८५ करोड बढी व्यापार गरिसकेको छ। एउटै फिल्मले झण्डै अर्बको व्यापार गर्दा अन्य फिल्महरुले पनि यो वर्ष राम्रै व्यापार गरे। जसले नेपाली फिल्मको बजार विस्तार भएको देखिन्छ।
के यही नै नेपाली फिल्मको स्वर्णिम समय हो त? टीकापुर साहित्य महोत्सवमा ‘स्वर्णिम समयमा नेपाली चलचित्र’ सेसनमा सहजकर्ता दीपज्योति थापाले सोधिन्। मन्चमा थिए, निर्देशकहरू मीन भाम, प्रदीप भट्टराई, अभिनेत्री तथा निर्माता केकी अधिकारी, अभिनेता तथा निर्माता रविन्द्रसिंह बानियाँ।
अभिनेत्री केकीले सिनेमा साहित्य आफैँमा प्रगतिशील कुरा भएको बताइन्। ‘केही हदसम्म हामी स्वर्णिम समयमा छौँ। अहिले हामीले समावेशी चलचित्र देख्न पाइरहेका छौँ। पहिला एक किसिमको अनुहारमात्र देखिरहेका थियौं। अहिले फरक फरक अनुहार देख्न पाइरहेका छौं। भेनिस, टोरेन्टो गइरहेका छौँ,’उनले भनिन्। उनले अहिले मेकरहरू फिल्म बनाउन उत्साहित भइरहेको पनि बताइन्।
निर्माता रवीन्द्र भने प्रदीपको कुरा पूर्णरुपमा स्वीकार गर्दैनन्। उनले चलचित्र गुणस्तरको हिसाबले स्वर्णिम नभएको तर्क राखे। उनले भने, ‘कतिपय फिल्म लोकरिझ्याइँका लागि बनिरहेका छन्।’
अलग धार बनाउन सफल निर्देशक मीनका फिल्मले अन्तर्राष्ट्रिय यात्राहरु गरे पनि नेपालमा रिलिज हुँदा जहिल्यै दर्शकको चुनौती हुने बताए। मीनले आफूले बनाएको फिल्म दर्शकले बुझ्दैनन् भनूँ भने उनीहरूलाई नै अन्याय हुने उनको भनाइ छ।
टिकापुरमा शनिबारदेखि सुरु भएको महोत्सव फागुन २६ गतेसम्म जारी रहनेछ।
Shares

प्रतिक्रिया