कला


स्विट्जरल्यान्डको सिने महोत्सवमा ‘राजागंज’की अभिनेत्री आशा मगराती जुरी सदस्य

स्विट्जरल्यान्डको सिने महोत्सवमा ‘राजागंज’की अभिनेत्री आशा मगराती जुरी सदस्य

नेपालखबर
फागुन २५, २०८१ आइतबार १३:१७, काठमाडौँ

आगामी चैत १ गते रिलिज हुने फिल्म ‘राजागंज’की अभिनेत्री आशा मगराती स्विट्जरल्यान्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनयन भएकी छिन्।

फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले आफ्नो वेबसाइटमार्फत अभिनेत्री मगरातीलाई जुरी सदस्यमा मनोनयन गरेको जानकारी दिएको छ।

‘राजागंज’ प्रदर्शनअगावै अभिनेत्री मगरातीलाई ठूलो उपलब्धि प्राप्त भएको हो। यस महोत्सवमा सन् २०१७ मा उनको अभिनय रहेको ‘सेतो सूर्य’ले ४ अवार्ड जितेको थियो।

यो महोत्सवको ३९औँ संस्करणको कथानक प्रतिस्पर्धातर्फ नेपालबाट अभिनेत्री मगरातीसहित बेलायती छायाकार डेरेक हडसन र स्विस अभिनेत्री तथा पियानोवादक अन्ना पिएरी जुरचर पनि जुरी सदस्यमा मनोनयन भएका छन्।

यस वर्षको फ्रिबर्ग महोत्सवमा अभिनेत्री आशा मगरातीको शीर्ष भूमिका रहेको ‘राजागंज’ पनि प्रिमियर हुँदै छ।

यस वर्षको फिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव मार्चको २१ देखि ३० सम्म स्विटजरल्यान्डमा आयोजना हुँदै छ। चैत १ गते नेपालमा सिनेमा रिलिज भएपछि आशा महोत्सवका लागि स्विट्जरल्यान्ड उड्ने छन्। यतिबेला उनी ‘राजागंज’को प्रचारमा व्यस्त छिन्।

यस फिल्ममा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ। यस फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाइसकेको छ।

यस फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो। प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो।

ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमै रौनियारको प्रशंसा गरेका थिए। सिनेमाको निर्माणमा आदि फिल्मस्‌का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्। यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेस इन्टरटेनमेन्टले संयुक्त रूपमा रिलिज गर्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad