फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को प्रिमियर गरिएको छ। सोमबार ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा गरिएको प्रिमियर शोमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिकलाई रूचाइएको छ।
सशस्त्र प्रहरी बलका महानिरीक्ष (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा पूर्व आईजीपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राईसहित कालाकार केकी अधिकारी, अलिशा राई, निर्देशक ज्ञानेन्द्र देउजा, पत्रकार प्रकाश सुवेदी, टिकाराम यात्री, डब्बु क्षेत्री लगायतको उपस्थिति थियो।
प्रिमियरमा चलचित्रका तर्फबाट अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्स पनि उपस्थित थिए। चलचित्रकी कथाकी पात्र तथा प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकार भने कार्य व्यस्तताका कारण उपस्थित रहेनन्।
चलचित्रको प्रिमियरपछि एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा दर्शकहरू भावुक बने। खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठूलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा चलचित्रमा उतारेको भन्दै निर्देशक मिलन चाम्सको प्रशंसा गरिएको छ।
आईजीपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखिरहेको तर यो चलचित्रले एन्जिला हुनुको वास्तविकता देखाएको बताए। उनले भने, ‘हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनशिप देखेका थियौँ तर, एन्जिला हुनुमा उनले कति संघर्ष रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो चलचित्रले देखायो। एपिएफ क्लबले एन्जिलालाई चिनायो, एन्जिलाले देशलाई चिनाइन्। यो चलचित्र नयाँ पिँढीको लागि प्रेरणा हुन्छ।’
पत्रकार प्रकाश सुवेदीले बायोपिकमा चलचित्र बनाउन जति चुनौतीपूर्ण छ, त्यो चलचित्रलाई कमर्शियल बनाउन त्यति नै गाह्रो रहेको रहेको प्रतिक्रिया दिए।
चलचित्र हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो चलचित्रले आफ्नो मन छोएको बताइन्।
निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दुख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन? भन्दै प्रश्न उठाए। उनले एन्जिलाको कथासँगै राज्यको दृष्टिकोणले पनि भावुक बनाएको बताए।

अभिनेता प्रशान्त ताम्राकारले गाउँ ठाउँका सबै नेपाली चेलीहरूको कथा पनि एन्जिलाको जस्तै सङ्घर्षशील रहेको बताए।
यसअघि यस चलचित्रको हङकङ, कोरिया र बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर भएको थियो। यसमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ।
चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्। निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको बताए।
Shares

प्रतिक्रिया