कला


‘होस्टेल ३’ले १ सातामा कति कमायो?

‘होस्टेल ३’ले १ सातामा कति कमायो?

नेपालखबर
चैत १, २०८१ शुक्रबार १२:२६, काठमाडौँ

गत शुक्रबार रिलिज भएको फिल्म ‘होस्टेल ३’ का निर्माताले पहिलो साताको व्यापार सार्वजनिक गरेका छन्। 

सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबारसम्म ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको हो।

चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डीसीआर रिपोर्टको आधारमा आम्दानीको आँकडा निकालेको बताए। 

‘हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ। वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,’ उनले भने।

चलचित्रले काठमाडौँ उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ।

यस चलचित्रलाई काठमाडौँमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन्। 

तीन नयाँ नेपाली चलचित्रहरू रिलिजका बाबजुद पनि हलहरूमा ‘होस्टेल ३’को अधिक मात्रा शो कटौती भएका छैनन्। कतिपय हलहरूमा नयाँ चलचित्रहरूको भन्दा ुहोस्टेल ३ुको शो बढी रहेका छन्।

यसैबीच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ।

‘नन होलिडे’ रिलिजमा समेत दर्शकहरू हलमा उर्लिएका छन्। युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ। 

डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्।

यस चलचित्रमा माधव शर्माले पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह(निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad