आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन फिल्मको रूपमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ देखाइने भएको छ।
महोत्सव राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा चैत ७ गते काठमाडौँमा उद्घाटन हुँदै छ।
यसपटक निफको निर्णायकमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक/सम्पादक रक्षा सिंह राणा, चलचित्र समीक्षक/सम्पादक रिता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाह लगायत छन्।
महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजनाअनुसार तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिनेछ।
आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अनुसार आगामी शनिबार आयोजना हुने उक्त फिल्म डेमा रसियाका तीनवटा चलचित्र प्रदर्शन हुनेछन्।
यसपटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ। अडियन्स च्वाइस अवार्डको लागि चैत ७ गते देखि ११ गते भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ।
‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा रचना प्रदर्शन हुनेछन्।
महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन्।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ।
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ।
नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ।
महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरू नेपाल आउने क्रम सुरु भईसकेको छ। चैत ११ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गर्दै समापन गरिनेछ।
Shares

प्रतिक्रिया