कला


दर्शकले रूचाएपछि फिल्म‘अञ्जिला’को शोमा वृद्धि

दर्शकले रूचाएपछि फिल्म‘अञ्जिला’को शोमा वृद्धि

नेपालखबर
चैत ५, २०८१ मंगलबार २१:५४, काठमाडौँ

गत बिहीबार प्रदर्शनमा आएको ‘अञ्जिला’ ले दर्शकहरूको उत्साहजनक साथ पाएको छ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यस फिल्मलाई दर्शकहरुले रुचाएसँगै हलहरूमा दैनिक शो सङ्ख्या वृद्धि हुन थालेको छ।

वितरक करण श्रेष्ठका अनुसार, चलचित्रले प्रदर्शनको पहिलो दिन १०५ शोबाट यात्रा सुरु गरेको थियो। दर्शकको बढ्दो मागसँगै शुक्रवार ११४, शनिवार १३४ र मङ्गलवारसम्म आइपुग्दा १७० भन्दा बढी शो पाएको छ। पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियाका कारण, चलचित्रले थप शोहरू प्राप्त गरेको निर्देशक मिलन चाम्सले बताए ।

यस फिल्मले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिलाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको कठोर सङ्घर्षलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ। राष्ट्रिय महिला फुटबल टोलीको कप्तानीसम्मको उनको यात्रालाई पर्दामा देख्दा दर्शकहरू भावुक बनेका छन्। चलचित्रको अन्त्यतिर हलमा अधिकांश दर्शकहरूका आँखा रसाएको देखिन्छ।

निर्देशक मिलन चाम्सको ११औँ यो निर्देशकिय चलचित्र हो। यस फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ एन्जिलाका गड फादर समेत हुन्। शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एञ्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन्। सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

चलचित्रले पहिलो तीन दिनमा २ करोड ७ लाख रुपैयाँको व्यापार गरेको रिपोर्ट निर्माताले सार्वजनिक गरिसकेको छ। यतिबेला यस फिल्ममा समावेश रात किन हुन्छ हजुर गीत निकै चर्चित छ। जसमा थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर रहेको छ भने प्रभा बर्तौलाको शब्द तथा थानेश्वरको सङ्गीत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad