पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले चर्चित भारतीय फिल्म निर्देशक संजयलीला भन्सालीको नयाँ फिल्ममा काम गर्ने भएकी छिन्।
सामाजिक सञ्जालमा निर्देशक भन्सालीसँगको तस्बिर राख्दै उनले यसबारे जानकारी दिएकी छिन्। उनले भन्सालीको सिनेम्याटिक दुनियाँको सानो हिस्सा बन्न पाउँदा गर्व महसुस भएको उल्लेख गरेकी छन्।
‘संजयलीला भन्साली सरको सिनेम्याटिक दुनियाँको सानो हिस्सा हुन पाउँदा अत्यन्तै आभारी र उत्साहित छु। भारतमा मेरो पहिलो परियोजना यो भन्दा राम्रो अरू हुन सक्दैनथ्यो।’
यद्दपी, भन्सालीको कुन फिल्ममा अभिनय गर्न लागेको हो भन्ने बारे निकिताले विस्तृत खुलाएकी छैनन्। यो पोस्ट राखेसँगै निकितालाई नेपाली कलाकारहरूले बधाई दिइरहेका छन्।
विराज भट्टको फिल्म ‘साङ्लो’बाट फिचर फिल्ममा डेब्यु गरेकी निकिता अभिनीत फिल्म ‘राजागंज’ यतिखेर हलमा प्रदर्शनरत छ। दीपक रौनियार निर्देशित यस फिल्ममा उनी इन्सपेक्टर ममता गुप्ताको भूमिकामा देखिएकी छिन्।
भन्साली निर्देशित फिल्महरू देवदास, हम दिल दे चुके सनम, पद्मावती, बाजीराव मस्तानी, गोलियों की रासलीला रामलीला, गंगुबाइ काठियावाडी निकै चर्चित छन्।
भन्सालीको आगामी फिल्म ‘लभ एण्ड वार’ २० मार्च २०२६ मा रिलिज हुने तयारीमा छ। रोमान्टिक ड्रामा जनरामा बनेको यस फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशलको अभिनय छ।
Shares

प्रतिक्रिया