फिल्म ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ। सोमवार सार्वजनिक गरिएको यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको रहेको छ।
गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ।गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे।
‘यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ। अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ। यो निकै ऊर्जाशील गीत हो, यसले राष्ट्र बोकेको छ, खेलाडी बोकेको छ, खेलकुद बोकेको छ। र, यो नेपालको लागि ‘स्पोर्ट्स एन्थम’ हो। एन्फाले नै यो गीतलाई ‘स्पोर्ट्स एन्थम’को लागि पहल गर्नुपर्छ,’उनले भने।
गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ। नेपालमा सुपरहिट साबित भइसकेको यस चलचित्रलाई हाल नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको छ।
यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ। एन्जिला आफैँले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन्। बाल्यकालदेखि लिएर व्यावसायिक खेल जीवनसम्मको उनको सङ्घर्ष र सफलताको कथा चलचित्रमा प्रस्तुत गरिएको छ। यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्, जो चलचित्रमा कलाकारको रूपमा समेत प्रस्तुत भएका छन्। श्रेष्ठलाई एन्जिलाले आफ्ना ‘गड फादर’को रूपमा लिने गरेकी छन्।
हालै एन्जिला केही समयको लागि नेपाल आएकी थिइन् र देशभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन्। उनी ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिगमा निस एट्रोमिटौ क्लबबाट खेलिरहेकी छिन् र हाल पुनः ग्रिस फर्किएकी छिन्।
‘अञ्जिला’ चलचित्रमा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया