कला


सुजन र झुमाको प्रत्यक्ष प्रस्तुतिसहित फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक

सुजन र झुमाको प्रत्यक्ष प्रस्तुतिसहित फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १७:२७, काठमाडौँ

वैशाख २६ गतेदेखि रिलिज हुने फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको सार्वजनिक गरिएको छ। मङ्गलवार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत गीत सार्वजनिक गरिएको हो।

यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको स्वर रहेको छ। गीत सार्वजनिक समारोहमा चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए।

‘हामी चलचित्रको जुन सपना बोकेर पाँचथर गएका थियौँ, आज त्यो सपना पुरा हुन लागेको छ। चलचित्र ‘रियलिस्टिक अप्रोचुबाट बनाइएको भएकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौँ,’  उनले भने।

उनका अनुसार अभिनेता विपिन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन्, जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धान समेत गरिएको थियो।

‘काफ्ले’ का गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना पूरा भएको बताए।

‘मलाई स्कुलमा शिक्षकहरूले ‘काफ्ले काफ्ले’ भन्नुहुन्थ्यो, त्यो बेला थरले बोलाउँदा रिस उठ्थ्यो। त्यसै बेला सोचेको थिएँ, काफ्ले थरलाई ब्रान्ड बनाउँछु। आर्टमाण्डू टिमसँग यात्रा सुरु गर्न पाएँ र सपना पनि पुरा हुन लाग्दा खुसी छु, ’उनले भने।

सङ्गीतकार तथा गायिका झुमा लिम्बूले ‘काफ्ले’ गीत उनको बाल्यकालको सम्झनासँग जोडिएको बताइन्।  ‘यो गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु। काफ्लेको बारेमा गीत बनाउन खोजिरहँदा काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु संयोग हो,’ उनले भनिन्।

मुन्धुम संस्कृति अध्ययनमा सक्रिय लिम्बूले गीतमा समेटिएको सांस्कृतिक गहिराइलाई अझ सशक्त बनाएकी छन्।

गीतका गायक सुजन चापागाईँले ‘ऊनको स्वीटर’ गीतको संरचना वर्णन गर्दै धेरै रङका धागाहरूलाई बटुलेर ‘ऊनको स्वीटरु बनाएको बताए। कार्यक्रममा झुमा लिम्बू र सुजन चापागाईँले यही गीतमा प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए।

चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए। ‘अटो भर्ने कुरामा आफ्नै याद आउँछन् । विद्यालयमा हुँदा मैले धेरै साथीहरूलाई अटो लेखेको छु,’ उनले अनुभव सुनाए, ‘यस चलचित्रमा कतिपय आफ्नै अनुभव पनि छन्।’

अभिनेत्री मिरुना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन्। ‘यो गीतसँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध छ । मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैँले काम गर्न पाएकी छु,’ मिरूनाले भनिन्। उनले यो चलचित्र निर्माणको क्रममा आफू पनि स्वीटरमा बुनिएको जस्तो अनुभव भएको बताइन्।

अभिनेता विल्सन विक्रम राईले ‘ऊनको स्वीटर’को अभिनय समयलाई आफ्नो ‘लक्की टाइम’को रूपमा चित्रित गरे। अर्का अभिनेता एलेक्स पारसले आर्टमाण्डू टिमप्रति कृतज्ञता व्यक्त गरे।

आर्टमाण्डू प्रालिको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो। विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ।

सुजन चापागाईँ गीत निर्देशक रहेको चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन्। सुरज कटुवाल सह-लेखकका रूपमा रहेका छन्। सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको निर्देशक चौहानले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad