कला


‘झोला’ बिसाएर ‘झिल्को’ बाल्न कस्सिएका यादव

‘झोला’ बिसाएर ‘झिल्को’ बाल्न कस्सिएका यादव

लक्ष्मी बलायर
बैशाख १४, २०८२ आइतबार ८:३६, काठमाडौँ

जहाँ जाँदा पनि उनको साथमा झोला छुट्दैन। कि उनले झोला बोकेका हुन्छन्, कि त ‘झोला’ले उनलाई। निर्देशक यादव भट्टराईले साथीभाइ र शुभचिन्तकमाझ बनाएको सुन्दर छवि नै यही हो। 

सोहीकारण यी निर्देशकमाथि कहिलेकाहीँ त धारिलो व्यंग्यवाणी पनि आउँछ, ‘यादवजी! झोला मात्र कति बोक्ने?’

त्यो प्रश्नले उनलाई एक दशकअघि फर्काउँछ। शताब्दी अघिसम्म जर्जर समय बाँचेका नारीहरूका निम्ति क्रूर सतीप्रथाको विषयमा उनले फिल्म बनाएका थिए। कृष्ण धरावासीको कथालाई उधिनेर इतिहास सम्झाउने गरी बनाएको फिल्म ‘झोला’ले उनको उचाइ थपिदिएको थियो। 

‘झोला’कै माया र श्रद्धा बटुलेर हिँडिरहेका यादवलाई निर्देशकीय यात्रामा नयाँ झिल्को कोर्नु थियो। झण्डै तीन वर्षको साधना र तपस्यापछि उनी नयाँ फिल्म ‘झिल्को’ मार्फत् फिल्म क्षेत्रमा कमब्याक गर्दैछन्। फिल्म रिलिजको छेकोमा दौडधुप गरिरहेका यादव यतिबेला पनि झोला बोकिरहेकै देखिन्थे। झिल्कोका पटकथाकार अरुणदेव जोशीले पुराना दृश्य सम्झँदै थपे, ‘झोला त अहिले मात्र हैन। झोलाकै सुटिङमा पनि तपाईंले बोकिरहनुभएको याद छ।’

यादव परिचित मुस्कान फिँजाउँदै भन्छन्, ‘यो त मेरो जिम्मेवारी हो।’ यस्तो जिम्मेवारी, जसबाट कहिल्यै वञ्चित हुन नपरोस्। 

उसो त यादवका लागि झोला फिल्म वा काँधमा भिरेर हिँड्ने बोझ मात्र हैन। यो त उनको जीवनको पर्याय पनि हो। मेटाफर पनि हो। कसैले झोला हरायो भन्दा उनलाई लाग्छ– ओहो फिल्म नै पो हरायो कि।

तर इतिहासको सूचीमा चढिसकेको फिल्म एक दशकमै गुमनाम हुँदैन। उनी कामको सिलसिलामा एकजना परिचित मानिसको घर पुगेका थिए। ती मानिसले आफ्नो बालाई ती यादवको परिचय दिँदै भने, ‘उहाँ झोलाको निर्देशक।’

उसो त यो परिचय मानिसहरूले सितिमिति पत्याइचाहिँ हाल्दैनन्। उनलाई एकफेर तलदेखि माथिसम्म नियाल्छन्। कतिपयले दोहोर्‍याएर सोध्छन् पनि। त्यसपछि श्रद्धाजनक मुद्रामा भन्छ्न्, ‘हामीले अर्कै रूपरङ सोचिरहेका थियौँ। अलि बुढो उमेरका होलान्। अर्कै होलान् भन्ने पो लागेको थियो।’

परिचितको घरमा छोराले बासँग परिचय गराइसकेपछि पो रोचक भयो। 

‘उहाँ घरमा कोही नयाँ पाहुना आयो भने पहिला झोला फिल्म हेरेको छ कि छैन भनेर सोध्नुहुन्छ। हेरेको छैन भने देखाउन थालिहाल्नुहुन्छ,’ छोराले सुनाउँदै भने। 

किन त? 

यादव जवाफ सुन्दा चकित पर्छन्। उबेला सतीप्रथा अन्त्य भइसकेको केही वर्ष पछिसम्म दूरदराजका गाउँमा यो अवशेषका रूपमा थियो। श्रीमानको मृत्युपछि एउटी महिलालाई समाजले सतीका निम्ति लिएर हिँड्यो। ती महिलाको पेटको आकार असामान्य बढेको देखियो। उनको गर्भमा नयाँ जीवन अङ्कुराइरहेको थियो। त्यो थाहा पाएपछि उनलाई सती नपठाइकन घर फर्काइयो। 

‘बुबा त्यही अङ्कुराइरहेको बच्चा हो। सती जानबाट जोगिएपछि उहाँ जन्मनुभयो। बुबा नजन्मनुभएको भए मेरो पनि अस्तित्व हुन्न थियो। अनि हाम्रो चिनजान पनि हुन्न थियो,’ वृद्धका छोराले सुनाएको कथाले यादवको आङमा अहिले पनि काँडा उम्रन्छ।

यादव भन्छन्, ‘यी कुराहरू सुन्दा म झोला बनाउनै जन्मेको जस्तÞो लाग्छ।’

सुरुमा त यादव यो फिल्म बनाउन निर्देशक खोजिरहेका थिए। त्यस्तो निर्देशक, जसले यो कथालाई न्याय गरोस्। जसले आफ्नो आँखामा बसेको दृश्यचित्र उतारोस्। खोज्दाखोज्दै थाके उनी। तर खोजेका जस्ता निर्देशक भेटिएनन्। त्यसपछि निर्णय गरे, ‘अब आफैँले निर्देशन गर्छु।’ 

‘त्यतिबेला थाहा भयो त्यो समय आमाहरूले भोगेको व्यथा। सायद अहिले पनि उहाँहरूको आर्तनाद आकाशमा कतै घुमिरहेको छ,’ यादव भन्छन्। 

कहिलेकाहीँ यादवलाई प्रश्न आउँछ, ‘के गर्नुहुन्थ्यो झोला नगरेको भए?’

जवाफमा भन्छन् उनी, ‘थाहा छैन। तर विद्रोहको आवाजचाहिँ जरुर दिन्थेँ।’ 

झोला पनि त्यही विद्रोहको आवाज लाग्छ उनलाई। इतिहासको त्यो कालखण्डको स्वर अहिले पनि गुन्जिरहेझैँ लाग्छ यादवलाई।

‘झोला’पछि दाइजोविरोधी फिल्म ’भोर’ बनाए यादवले। तर व्यावसायिक हिसाबमा ‘भोर’ले असाध्यै बोर गर्‍यो। कथा त राम्रै थियोजस्तो लाग्छ उनलाई। तर फिल्म नचलेपछि उभिएको जमिन नै भासिएजस्तो भयो। त्यसपछि फिल्म निर्माणबाट ७ वर्ष हराए उनी। यद्यपि हराएका चाहिँ थिएनन्। 

‘थुप्रै फिल्म हेरेँ। आफ्नोपनसहितको कथा कसरी भन्ने, थप अध्ययन गरेँ। लामो समयपछि पटकथाहरूको चाङबाट नयाँ कथा छानेँ। त्यही कथा हो ‘झिल्को’। जुन आगामी १९ वैशाखबाट सिनेमाघरहरूमा लाग्दैछ। बाल मनोविज्ञानमाथि टेलिफिल्म बनाइरहँदा उनी एउटा निचोडमा पुगेका थिए। 

‘त्यही क्रममा मैले मोबाइलको समस्याले बालबालिकामा पारेको असरलाई पहिचान गरेँ,’ यादव भन्छन्।

यो निर्णयमा पुग्नुअघि एकजना साथीले आफ्नो ३ वर्षको छोरीबारे एउटा चिन्ताजनक कुरा भने।    

‘यादवजी मेरो छोरीले अहिलेसम्म आमा, बुबा र दिदीबाहेक अरु शब्द भन्दिनन्,’ साथीले चिन्ता पोखे। 

समस्याको जड नै मोबाइल थियो। मोबाइलमै झुम्मिरहने बालबालिकाका मानसिक स्वास्थ्यमा आउने समस्याबारे उनले अध्ययन गरे। ती साथीकै छोरीको चेकअप गर्दा डाक्टरले ‘भर्चुअल अटिजम’ भएको बताए। 

‘कसैसँग दोहोरो कुराकानी नगर्ने, आफूले खाएको खानाको स्वाद पनि थाहा छैन।  बच्चा स्वाभाविक जीवनबाट अस्वाभिवक जीवनतर्फ गइरहेका छन्। यो निकै संवेदनशील कुरा थियो,’ यादव सुनाउँछन्।

उनी साना बालबालिको दोष देख्दैनन्। देख्छन् त केवल अभिभावकको। 

‘मोबाइल एडिक्सनले हाम्रो बच्चाको भविष्य के सुन्दर बनाइरहेको छ? के जिन्दगी बाँच्न सिकाइरहेको छ?’ उनी मन्थन गर्छन्। उनी चाहन्छन्, यो झिल्को डढेलो बन्न नपाओस्। उजाड नबनाओस् कुनै बालबालिकाको जीनव।

त्यसकारण नै उनले फिल्म बनाए। फिल्मलाई यादवसहित अरुणदेव जोशी र देवव्रत मिलेर लेखे।  

यादव फिल्म ‘झिल्को’बाट चेतनाको लप्का निकाल्न चाहन्छन्। र फैलाउन चाहन्छन् प्रत्येक स्कुल, घर र व्यक्तिसम्म। 

‘झिल्कोले मलाई परिवर्तन गरेको छ। यो समयमा सबैलाई परिवर्तन गरोस् भन्ने चाहन्छु,’ यादव आफ्नो कामना सुनाउँछन्। 

अब उनी झोलाबाट इतिहास मात्र खोतल्दैनन्। भोरबाट उज्यालो मात्र फैलाउँदैनन्। झिल्कोबाट डिजिटल युगको चेतना पनि बाल्न चाहन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad