कला


१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा संगीता

१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा संगीता

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ७:४४, काठमाडौँ

दुई दशक अघिदेखि सञ्चालनमा आएको सांगीतिक पलेँटीमा यसपल्ट संगीता राना प्रधानको प्रस्तुति रहने भएको छ।

पलेँटीमा १८ वर्षअघि पहिलो खेप गीत सुनाएकी संगीताले यसपालि शुक्रबार र शनिबार (वैशाख ११ र १३ गते) गीत गाउने भएकी हुन्।

संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाई शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन्। उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन्। कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ।

१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता निक्कै उत्साहित देखिन्छिन्। उनी भन्छिन्, ‘पलेँटीमा एकल गायन लिएर लामो समयपछि उत्रँदै छु, म उत्साहित छु। पलेँटीका श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका पाएकाले यस मञ्चले मलाई सधैँ आनन्दित बनाउँछ। खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म 'नोस्टाल्जिक' बन्ने गर्छु।'

२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन्। आभास भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी- क्लासिकलको मिश्रण हुनेछ। खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ। मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु।'

संगीता प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठशिल्पी हुन्। विश्वभारती विश्वविद्यालय शान्ति निकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छिन्।

पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्नशमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन्। ती शब्दहरूमा धुन अग्रज संगीतकार नातिकाजी, शन्ति ठटाल, मानवीर सिंहः गुरुदेव कामत, अमृत गुरुङ र आभासले भरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad