केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रबारे राखेको धारणाका कारण राजावादीहरूले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गरिरहेका छन्।
अभिनेत्री पन्तविरुद्ध विष वमन थामिनसक्नु भएपछि अर्की अभिनेत्री ऋचा शर्माले उनलाई हतोत्साही नहुन सुझाव दिएकी छन्।
‘आजभोलि केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैँ उनीहरूको पक्षमा हुनुपर्छ। तर म तिमीलाई सम्झाउन चाहन्छु– तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठिक कुरा हो। तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ’, अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘साँचो बोल्न गाह्रो हुन्छ। किनकि साँचोले ढोंगलाई नङ्ग्याउँछ, आडम्बरलाई तोड्छ र ‘सब ठिक छ’ भन्ने भ्रमलाई चर्काउँछ। तिमीले त्यसरी साँचो बोल्दा कतिलाई रिस उठ्छ, कतिलाई अप्ठ्यारो लाग्छ। तर त्यो रिस र त्यो अप्ठ्यारो उनीहरूको कमजोरी हो, तिम्रो हैन।’
के भनेकी थिइन् सुरक्षाले?
केही दिनअघि नायिका पन्त रजतपट अनलाइट टीभी नामक युट्युब च्यानलको ‘द प्रकाश सुवेदी शो’मा अन्तर्वार्ता दिइरहेकी थिइन्।
यसै क्रममा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी सुरक्षालाई पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रको तस्बिर देखाउँदै सोध्छन्, ‘भविष्यमा उहाँलाई कुन रूपमा हेर्न चाहनुहुन्छ?’
जवाफमा सुरक्षा भन्छिन्, ‘लुक्स राम्रो छ। अभिनय पनि गर्न सक्नुहुन्छ होला। कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ। सिनेमा क्षेत्रमा स्वागत छ उहाँलाई ।’
सुवेदी सोध्छन्, ‘कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैले कतै पढेको छु।’
जवाफमा सुरक्षा भन्छन्, ‘राजा बनाउने भन्ने कुरा कहाँ, हामीले स्वीकारेकै छैनौँ। त्यो त भन्न सकिन्न।’

Shares

प्रतिक्रिया