सुनसरीसमा सम्पन्न ‘तरहरा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता’मा प्रथम पुरस्कार कवि अविनाश भट्टराईले जितेका छन्।
‘श्री जनसहयोग २०५० समूह तरहरा’ले इटहरी उपमहानगरपालिका-२०, तरहरामा आयोजना गरेको कविता प्रतियोगितामा भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ कविता प्रथम हुन सफल भएको हो।
यसबापत कवि भट्टराईले ५१ हजार १ सय राशिको पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता दोस्रो तथा रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविता तृतीय भए। जसका लेखकले क्रमश: ४१ हजार १ सय र ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाए।
यस्तै सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘संघर्ष र संकल्प’ सान्त्वना पुरस्कार पाउन सफल भए। उनीहरूलाई जनही ११ हजार १ सय रुपैयाँ प्रदान गरियो।
आयोजकका अनुसार उक्त कविता प्रतियोगिताका लागि जम्मा ४०६ कविता प्राप्त भएका थिए भने तीमध्ये १० वटा प्रतिस्पर्धाका लागि छानिएका थिए। जसका लेखकलाई प्रतियोगितामा आफ्ना कविता वाचन गर्न लगाइएको थियो।
निर्णायक मण्डलमा मनु मञ्जिल, ठाकुर बेलवासे, बद्री भिखारीलगायत थिए।
उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवान्को म्याराथन’ शीर्षकका कवितालाई पनि जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार दिइएको आयोजकले जनाएको छ।
समारोहका प्रमुख अतिथि अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवसले पुरस्कार हस्तान्तरण गरेका थिए।
सो अवसरमा तरहरा मूलवासी भई स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा योगदान गरेका नवल नेपाल, प्रकाशचन्द्र परियार, मणिराम श्रेष्ठ, डाक्टर धनकेशर खड्का, कमला सुब्बा, कमला चापागाँईलगायतलाई सम्मान पनि गरियो।
Shares

प्रतिक्रिया