कला


डा. ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कार

डा. ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कार

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १५:३०, काठमाडौँ

नेपाली लेखक संघले उपत्यकामा तेस्रो राष्ट्रिय लेखक दिवस मनाएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित कार्यक्रममा संघले प्रत्येक दुई वर्षमा प्रदान गर्ने राष्ट्रिय लेखक पुरस्कार यसवर्ष आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरेको छ।

आख्यानकार गौतमलाई १ लाख रुपैयाँ नगद राशीको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उपस्थित थिए।

राणाकालमा काठमाडौँका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन्छ। त्यसै दिनदेखि वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाउँदै आएको हो।

पुरस्कारका लागि संघलाई धन्यवाद दिँदै आख्यानकार गौतमले सम्पूर्ण लेखकले साहित्यलाई साधना मानेर काम गर्नुपर्ने आग्रह गरे। 

‘मैले पनि १० वर्षको उमेरदेखि लेख्न थालेको हुँ। २० वर्षदेखि मेरो लेख प्रकाशन हुन थाल्यो। अहिलेसम्म पनि निरन्तर लेखिरहेको छु। संघर्ष गरेर नै अहिले यो स्थानमा आइपुगेको छु। लेखकभित्र साधना गर्ने क्षमता हुनुपर्छ। लेख्न जाने पनि नजाने पनि उ भित्र चाहना सधैँ भइरहनुपर्छ,’ उनले भने।

समीक्षक अनुपमा रेग्मीले आख्यानकार ध्रुवचन्द्र गौतमको परिचय र व्यक्तित्वमाथि प्रकाश पर्दै हाल उनी आत्मकथा लेखिरहेको जानकारी दिइन्। 

उनले भनिन्,‘साहित्यमा आख्यानकार ध्रुवचन्द्र गौतमको अतुलनीय योगदान छ। नेपाली साहित्यमा कथा संग्रह, नाटक, पटकथा, गीत, आख्यान गरी उहाँको दर्जनौं कृति प्रकाशित छ।’

नेपाली साहित्यमा प्रखर व्यक्ति मानिने गौतमले आख्यान विधामा संख्यात्मक र गुणात्मक दुबै तवरबाट उत्कृष्ट कृति प्रकाशित गरेर साहित्यमा योगदान दिइरहेको उनले बताइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघको लोकतन्त्रका लागि लेखेका व्यक्तिलाई सम्मान गर्नु उल्लेखनीय काम रहेको बताए। उनले स्वतन्त्र लेखनले व्यक्ति र समाजलाई सिर्जनात्मक रुपमा जागरुक बनाउने धारणा राखे। विगतमा भन्दा देशमा लेखन, कला, साहित्य, राजनीति फिल्म क्षेत्रमा राम्रो हुँदै गएको उनको मत थियो।

साहित्यकार वैरागी काइँलाले नेपालमा साहित्यकार र लेखक सावधान बन्नुपर्ने अवस्था आएको बताए। 

‘अहिले मुलुक अफ्ट्यारो परिस्थितिमा गइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रिय भावना अभाव, युवा पुस्तामा देशप्रतिको माया कमि, देशभक्तिप्रति अनास्था बढ्दै किन गइरहेको छ?’ उनले प्रतिप्रश्न गरे।

साहित्यकार रत्नमणि नेपालले आख्यान, पुस्तक,लोकतन्त्र, प्रजातन्त्रजस्ता अन्य दिवसजस्तै लेखक दिवस पनि मनाइनु आवश्यक रहेको बताए। आयोजक संघका अध्यक्ष वियोगी बुढाथोकीले लोकतन्त्र बचाउन लेखकहरु पनि एकजुट भएर काम गर्नुपर्ने बताए।

यसै अवसरमा संघले देशका लब्ध प्रतिष्ठित ३२ लेखक साहित्यकारलाई मानार्थ सम्मान गरेको छ। जसमा साहित्यकार बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा‍‍।बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मिठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेल थिए।

संघले भने २०८० सालदेखि लेखक दिवस मनाउन थालेको संघका महासचिव सोझो गाउँलेले बताए। उनले संघले उपत्यकाबाहेक जिल्ला र प्रदेशमा पनि लेखक दिवस मनाएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad