गत वर्षको फागुन २ गते प्रदर्शनमा आएको फिल्म ‘रंगी’ लन्डनमा पनि रिलिज हुने भएको छ। अभिनेता सलोन बस्नेत डेब्यु लगानी रहेको यो फिल्म आगामी मे ९ तारिखमा लन्डनको २७ वटा हलबाट प्रदर्शनमा आउन लागेको हो।
यस फिल्मलाई महारानी प्रोडक्सनको विक्रम जोशीले प्रदर्शनका लागि जिम्मा लिएका छन्। यो फिल्मको लण्डनमा प्रदर्शनका लागि सेन्सर पास भइसकेको जोशीले बताए। उनका अनुसार यो फिल्मले लण्डनमा प्रदर्शनका लागि सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ। यसअघि यो फिल्म अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शनमा आएको थियो।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यस फिल्ममा बाबुछोरीबीचको कथामा आधारित रहेको छ। विभिन्न फिल्ममा सहायक निर्देशन गर्दै आएका सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको छ। यस फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ। यो फिल्म अभिनेता बस्नेतको डेब्यू निर्माण हो।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ।
दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।
फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हो।
Shares

प्रतिक्रिया