कला


वैशाख २७ गते रुम्झाटारमा कन्सर्ट, राजेश हमालसहित दुई दर्जन सेलिब्रेटी प्रस्तुत हुने

वैशाख २७ गते रुम्झाटारमा कन्सर्ट, राजेश हमालसहित दुई दर्जन सेलिब्रेटी प्रस्तुत हुने

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १६:२५, काठमाडौँ

सोलुखुम्बुको पत्ताले, गौरी टाप, ओखलढुंगाको रुम्झाटार र आसपासका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारले आयोजना गर्न लागेको तेस्रो स्पार्क एड्भेन्चरमा अभिनेता राजेश हमाल, अभिनेत्री मनीषा कोइराला, अभिनेता एवं क्याप्टेन विजय लामालगायत दर्जनभन्दा बढी कलाकार सहभागी हुने भएका छन्।

स्पार्क एड्भेञ्चरमा गायिका आनी छोइङ डोल्मा, हास्यकलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र पनि सहभागी हुँदैछन्। त्यस्तै, बीबीसी मास्टरसेफ सन्तोष शाह, फिल्म निर्देशक रामबाबु गुरुङ एवं मीन भाम, नायट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक, डन डिरेक्टर अमन प्रताप अधिकारीको उपस्थिति हुने जनाइएको छ।

स्पार्क एड्भेन्चरकै दोस्रो दिनको तालिकाअनुसार दिउँसो रुम्झाटारमा कन्सर्ट आयोजना गरिने स्पार्क एड्भेन्चरका सम्योजक अमरदीप भट्टराईले जानकारी दिए। कन्सर्टमा स्थानीय कला संस्कृतिसँगै वरिष्ठ गायक दीप श्रेष्ठ, प्रेमराजा महत, राजु लामा,  सुनिता दुलाल, बिमलराज क्षेत्री र आस्था रावतललगायतको सांगीतिक प्रस्तुति रहनेछ।  

ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए।

कार्यक्रमको पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरी टाप, पत्तालेसम्म विद्युतीय सवारीमा रोमाञ्चक यात्रा हुनेछ। पहिलो दिन गौरी टापमा टेन्ट क्याम्पमा बसाइ हुनेछ। सहभागीहरुले प्रकृतिको आनन्द उठाउँदै रैथाने परिकारको स्वाद लिनेछन्।

चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो। यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरूको दृश्यावलोकन गर्न सकिन्छ।

लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन्। धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरी टापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ।

दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिने छ। सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा सांगीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन्।

दोस्रो दिन सहभागीहरू स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुंगाको रुम्झाटारको होमस्टेमा रात बिताउनेछन्। यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराई बताउँछन्।

यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरि रुम्झाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ। गुरुङ समूदायको बाहुल्य रहेको रुम्झाटार कुनै समय भेडापालन र राडीका लागि प्रख्यात थियो। यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडी रुम्झाटार विमानस्थलबाट काठमाडौँसम्म पुर्‍याइन्थ्यो।

‘दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो’, भट्टराईले भने, ‘सहभागीहरूले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ।’

प्रत्येक वर्ष प्रचूर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ। स्पार्क कारले स्पार्क एड्भेन्चरकी पहिलो संस्करण सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह शिकार अवलोकनलाई प्रवर्द्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवर्द्धन गरेको थियो।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ। सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad