कला


बैंकले घर लिलामीको सूचना निकालेपछि उडिरहेको प्लेनभित्रै रोएँ : केकी अधिकारी (भिडिओ)


अनिल यादव
जेठ २ , काठमाडौँ

०७१ मंसिर २ गते बजारमा सर्वत्र खबर फैलियो– ‘अभिनेत्री केकी अधिकारीको परिवार आर्थिक संकटमा।’ 

केकीका बुबाआमाले सिभिल बैंकबाट लिएको ऋण चुक्ता गर्न नसक्दा जोरपाटीमा उनी बस्ने घर र बुबाले चलाइरहेको स्कुल लिलाम गर्ने चेतावनीसहित सूचना प्रकाशित भएपछि सबैतिर यो मिडियाको हेडलाइन बन्यो। 

शुक्रबारदेखि प्रदर्शनमा आएको केकी अभिनीत फिल्म ‘के घर के डेरा–२’ हेर्नुभएको छ भने पक्कै तपाईंले केकीको त्यो विगत सम्झिन सक्नुहुन्छ। केकी स्वयंलाई लाग्छ, उनको जीवनसँग कहीँ न कहीँ नजिक छ यो फिल्म। 

आफ्नो प्रिय लेखक बुद्धिसागरको पटकथामा बनेको यो फिल्मका लागि जब निर्देशक दीपेन्द्र के खनालले उनलाई प्रस्ताव गरे, केकी निकै उत्साहित थिइन्। जब फिल्मको स्क्रिप्ट पढिन्, त्यसपछि झस्किइन्। 

‘के घर के डेरा भनेपछि मलाई यो पुरानै फिल्मको सिक्वेल होला भन्ने लागेको थियो,’ नेपालखबर सो ‘लेट्स टक’मा आइपुगेकी उनले भनिन्, ‘तर, स्क्रिप्ट पढेपछि मैले आफ्नै जीवनको घटनासँग रिलेट गरेँ। मैले निर्देशकलाई सोधेँ– किन मलाई नै?’

तर, निर्देशक खनालले आफूलाई उनको पुरानो घटना थाहा नभएको बताए। 

‘यो फिल्ममा आर्यन सिग्देलले निर्वाह गरेको क्यारेक्टरमा मैले झलझली मेरो बाबालाई पाइरहेको थिएँ,’ केकी सम्झिन्छन्। 

यो फिल्मले केकीको त्यो पुरानो घटनालाई फेरि एकपटक सम्झाइदिएको छ। 

‘त्यो समाचार जसरी आयो र धेरैले थाहा पाउनुभयो, सायद चकित हुनुभयो होला,’ केकी भन्छिन्, ‘तर, हाम्रो परिवार भने धेरै समयदेखि त्यो समस्याबाट गुज्रिरहेको थियो। हाम्रो परिवार बसेको घर र चलाएको स्कुललाई कसरी जोगाउने भनेर सबै एकजुट भएर लागिरहेका थियौँ। हामी सबैमा कुनै दिन समाचारमा आयो भने कसरी फेस गर्ने भन्ने डर चाहिँ थियो।’

केकीको मनमा यतिसम्म डर थियो कि कसैले उनलाई भेटेर ‘तिम्रोबारे एउटा कुरा सुनेँ नि’ भन्यो भने उनी झस्किन्थिन्– ला...कतै त्यही कुरा थाहा पायो कि! 

तर, समाचार आएपछि त्यो डर हटेर गएको केकी सम्झन्छिन्। 

‘समाचार आएको दिन मेरो डर मरेको दिन थियो,’ उनले भनिन्, ‘त्यसपछि म निर्धक्कसँग त्यो चिजको सामना गर्न सक्ने भएँ। काठमाडौँजस्तो सहरमा आएर व्यापार गरौँ, घर बनाऊँ भन्ने मान्छेहरू, जो जोखिम लिन चाहन्छन्, उनीहरूको जीवनमा घट्ने सानो घटना मात्रै रहेछ यो। अरु संकटभन्दा सानो संकट हो यो। जीवनमा आफूनजिकको मान्छे गुमाउनु, स्वास्थ्य स्थिति ठिक नहुनु, मानसिक रूपमा काम गर्न नसक्ने हुनु, सम्बन्धहरू बिग्रिनु बरु ठूलो संकट रहेछ जीवनमा। त्यसैले यो घटनालाई सम्झिएँ भने मेरो जीवनमा घटेको सानो घटनाका रूपमा लिन्छु।’

केकी जीवनमै सबैभन्दा बढी रोएको क्षण पनि त्यही थियो। त्यतिबेला आफू उडिरहेको प्लेनको बाथरुमभित्र रोएको उनले पहिलोपल्ट हामीसँग सुनाइन्। 

‘समाचार आएको दुईतीन दिनपछि अस्ट्रेलिया उड्नुपर्ने थियो,’ उनले त्यो दिन सम्झँदै भनिन्, ‘जताततै म समाचारमा छाएको थिएँ। एयरपोर्टमा पनि सबैले सिम्प्याथीको दृष्टिले हेरिरहेका थिए। जब म एयरपोर्टको बाथरुमभित्र छिरेँ, म रोएँ। रुँदा पनि त्यहाँ आवाज बाहिर जाँदैन थियो। म भक्तिभावनामा लिप्त मान्छे होइन, नास्तिक पनि होइन तर त्यो पलमा उडिरहेँको जहाजभित्र हावामा हुँदा म कुनै डिभाइन पावरको नजिक छुजस्तो महसुस भयो अनि यो चिज चाँडै समाधान होस् भनेर प्रार्थना गरेँ। एक्लै रोएँ।’

नभन्दै उनको प्रार्थना पूरा भयो। जब लिलामीको सूचना आयो, त्यसपछि घर किन्ने ग्राहक आए। केकीको परिवारले बैंकको ऋण तिर्‍यो। 

‘हामी जिरोभन्दा पनि माइनसमा पुग्यौँ,’ केकीले सम्झिइन्, ‘त्यसपछि कयौँ वर्ष डेरामा बस्यौँ। तर, आफ्नो काम गर्न छाडेनौँ। कहिल्यै हडबडाएनौँ। कहिल्यै मात्तिएनौँ। बाबाको स्वभाव त्यस्तै थियो, म पनि सायद उहाँबाटै प्रभावित भएँ। मलाई ठूलो सफलता या प्राप्तिले कहिल्यै मत्याएन, न ठूलो संकटबाट नै आत्तिएँ। करिब ८ वर्षको डेरा जीवनपछि हामीले फेरि घर किन्याँै र आफ्नै घरमा बस्यौँ।’

यद्यपि, केही समयका लागि घर छाडेर डेरामा जाँदा त्यो समय केकी र उनको परिवारका लािग पीडादायी भयो। 

‘अलि पीडादायी र संघर्षपूर्ण नै भयो,’ केकीले भनिन्, ‘त्यसपछि मैले धमाधम म्युजिक भिडिओ गरँे। दिनरात नभनी काम गरेँ। सिनेमा लगालग साइन गरेँ। तर, ऋण तिर्न पुगिरहेको थिएन। बाहिर केकीले छनौट नगरी जथाभावी काम गरेको भनेर आलोचना हुन्थ्यो। तर प्रश्न उठिरहँदा म मिलाएर अर्कै जवाफ दिन्थेँ। मेरो लागि कर्म ठूलो हो भन्थेँ। तर, त्यतिबेला मसँग अप्सन हुन्थ्यो भने म पनि वर्षमा एकदुइटा काम मात्रै गर्थेँ। सायद उत्कृष्ट काम मात्रै गर्थेँ होला।’

केकीलाई अहिले लाग्छ, सायद त्यतिबेला समय ठिक थिएन। त्यो समय केही न केही सिकाउनका लागि नै आएको थियो।

एक दशकबढी फिल्ममा काम गरिसकेकी केकीलाई हामीले सोध्यौँ– ‘फिल्ममा पात्र बन्नु सजिलो लाग्छ कि जीवनमा आफै हुनु?’

उनले भनिन्, ‘जीवनमा आफू हुनु निकै गाह्रो छ। पात्र बन्नु निकै सजिलो। जीवनमा कहिलेकाहीँ यस्तो भूमिकामा तपाईं अड्किनुहुन्छ कि तपाईंलाई गाह्रो हुन्छ संवाद बोल्न। तपाईंलाई फ्रेममै बस्न मन लाग्दैन, भाग्नुहुन्छ। कहिलेकाहीँ जीवनमा फेस गर्नभन्दा पनि त्यहाँबाट भाग्न सजिलो हुन्छ।’

हेर्नुहोस् ‘लेट्स टक’, जहाँ केकीले आफ्नो जीवन, संघर्ष, फिल्म करिअरबारे खुलेर बोलकी छन् :

जेठ २, २०८२ शुक्रबार २०:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad