कला


हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा, ३०० भन्दाबढी जनशक्ति पनि पुग्यो

हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा, ३०० भन्दाबढी जनशक्ति पनि पुग्यो

नेपालखबर
जेठ ४, २०८२ आइतबार १७:२७, मुस्ताङ

 पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायांकन गरिन लागिएको हो।

हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ। अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो।

नेपालका विभिन्न जिल्लामा छायांकन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायांकनका लागि यहाँ आइपुगेको छायांकन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए। उनका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन्।

उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए। घरपझोङ गाउँपालिका-५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ-१ को लक्कीमा सो फिल्मको छायांकन हुने सहजकर्ता गुरुङले उल्लेख गरे। 

यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायांकन गर्ने योजना रहेको गुरुङको भनाइ छ। 

सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृष्य फिल्ममा समेटिने बताइएको छ। मुस्ताङमा यो फिल्म छायांकनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेशन’ छायांकनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ।

जिल्लाका तीन पालिकामा छायांकन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए। पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायांकन गर्नेक्रम बढेको बताए। ‘मुस्ताङमा यस प्रकारका फिल्म छायांकनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवर्द्धनमा ठूलो सहयोग पुर्‍याउँछ’, उनले भने।

मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायांकन भएको थियो। त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायांकन हुन लागेको हो। मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायांकन हुने चलचित्रले टेवा पुर्‍याउने गरेको छ। मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अंग्रेजी फिल्म छायांकन भइसकेका छन्। यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायांकन केन्द्र बन्दै जान थालेको छ।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad