फिल्म ‘जनै हराएको बाहुन: सम्बन्धका धागाहरू’ को प्रदर्शन मिति तय भएको छ।
सोमबार निर्माण टिमले कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै भदौ ६ गते रिलिज गर्ने घोषणा गरेको हो।
सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन्। सूर्यभन्दा माथि हवाईजहाज उडिरहेको छ। व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ।
दृश्यमा निलो रङ तल्लो भागमा र माथि गोधुली साँझ छ। सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो, चिनिँदैन। मुख्य पात्र हुन् भने विजय बराल हुन्। दुब्लो-पातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो हवाईजहाजले उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।
किनकि नेपालमा ठूलो हवाईजहाजको दृश्य वैदेशिक रोजगारीको बिम्व हो।
यो फिल्म आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो।
आमाको खुसी फर्काउन उसले के-के गर्छ, त्यही यात्राको उतारचढाव फर्स्ट लुकमा देखाउने प्रयास गरिएको छ।
हिमाल न्यौपाने निर्देशित यस फिल्मको छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनमा छ। न्यौपानेको यो डेब्यु निर्देशन हो।
काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ।
चलचित्रले आमा र छोराबीचको भावनात्मक सम्बन्ध देखाउनेछ।
यस फिल्ममा विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ। साथै यसमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतले पनि अभिनय गरेका छन्।
असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।
सिनेमाको निर्माण पक्षले केही दिनपछि फर्स्टलुक पोस्टर सार्वजनिक गर्ने बताएको छ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।
Shares

प्रतिक्रिया